राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधिसभा उमेदवार सोबिता गौतमले चितवन क्षेत्र नम्बर-३ का मतदाता यसपटक परिवर्तनको पक्षमा उभिन पूर्ण रुपमा तयार रहेको बताएकी छन्।
सोमबार चितवन क्षेत्र नम्बर-३ मा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्दै नेतृ गौतमले यस्तो बताएकी हुन्।
निर्वाचन प्रचारप्रसारको अन्तिम दिन आयोजित कोणसभामा उपस्थित जनसागर देखेर आफू निकै उत्साहित भएको उनले बताइन्।
फागु पूर्णिमाको शुभकामना दिँदै उनले भनिन्, ‘आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो। आजको दिनपछि हामी एकैपटक मतदान केन्द्रमा भेट्नेछौं र घण्टी चुनाव चिन्हमा मतदान गर्नेछौं।’
नेतृ गौतमले सोमबार बिहानैदेखि धारा चोकबाट सुरु भएर शीतल चोक हुँदै पुनः धारा चोकसम्म पदयात्रा गरिएको जानकारी गराइन्।
‘यति धेरै उपस्थितिले गर्दा म के कुरामा विश्वस्त भएको छु भने, यो पटक चितवन क्षेत्र नम्बर-३ परिवर्तनका लागि तत्पर भएर बसिसकेको छ। घण्टी चुनाव चिन्हमा मतदान गर्न जनता आतुर छन्।’
यसअघिका विभिन्न घरदैलो तथा कोणसभा कार्यक्रमहरुमा आफूले जनतालाई भन्नुपर्ने कुराहरु राखिसकेको उनले सुनाइन्।
प्रकाशित: १८ फाल्गुन २०८२ १५:०१ सोमबार