राजनीति

चित्रबहादुर केसी भन्छन्: जेन-जी आन्दोलनमा अमेरिका र भारतीय साम्राज्यवाद घूसपेट भयो

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले जेन-जी आन्दोलनमा अमेरिका र भारतीय साम्राज्यवादको घुसपेट भएको दावी गरेका छन् । चितवनमा आइतबारदेखि सुरु भएको अखिल नेपाल जनजाति सम्मेलनको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केसीले पछिल्ला राजनीतिक अवस्थाबारे चित्रण गर्दै यो दावी गरेका हुन् ।  

‘नयाँ पीडिले स्वभाविक कुरा उठाएका थिए । भष्टाचार नियन्त्रण हुनुपर्छ भनेर कलिला विद्यार्थीले उठाएको माग हाम्रो पनि हो । संसदबाट बारम्बार राष्ट्रिय जनमोर्चाले उठाएको पनि थियो,’ उनले भने ‘जेन-जीको आन्दोलनलाई मौका छोपी अमेरिकी साम्राज्यवाद र रअ मिलेर नेपाललाई खरानीको थुप्रोमा परिणत गरेका छन्।’  

कार्यक्रममा अधिकांश समय देशको राजनीतिक अवस्थाबारे बोलेका केसीले संसद विघटन गरेर आईएनजीओको जिम्मा लगाएको आरोप लगाए । ‘विदेशी तत्वले जनताद्वारा निर्वाचित संसदलाई विघटन गरेर आईएनजीओले सरकार सञ्चालन गरेको छ,’ उनले भने ‘रअ र आईएनजीओमा काम गर्नेले राष्ट्रको हितमा काम गर्दैन्।’ अहिले आईएनजीओमा काम गर्ने मानिसहरुले सरकार चलाएको उनको आरोप छ ।  

विदेशी शक्तिविरुद्ध बोल्ने आवाजलाई दबाउन विदेशी शक्तिले भ्रष्टाचार बेथितीविरुद्ध बोलिरहेको राष्ट्रिय जनमोर्चाको कार्यालय समेत जलाएको बताए । ‘विदेशी शक्तिविरुद्ध हामी निरन्तर लाग्यौँ । हाम्रो आवाजलाई दमन गर्न सुर्खेत, प्यूठान, अर्घाखाँची र बुटवलको पार्टी कार्यालय पोले,’ उनले प्रश्न गर्दै भने ‘हामीले त भ्रष्टचार गरेका थिएनौँ नि? यसमा विदेशी शक्तिकै हात छ।’  

उनले संसदबाट ठूला राजनीतिक शक्तिलाई पटक पटक सचेत गराएपनि नटेरेको बताए । ‘देशका राजनीतिक पार्टी नसच्चिए बंगालादेश हुन्छ भनेको थिए । उनीहरुले टेरेनन्,’ उनले भने ‘भ्रष्टाचारमा लिप्त हुँदै अकुत पैसा जग्मा गर्न लागे ।’

नेपाली जनता संगठित भएर नलाग्ने हो भने नेपाल प्यालेस्टानी हुने चेतावनी समेत दिए । कुनैपनि देशलाई सक्न शिक्षा प्रणालीलाई ध्वस्त बनाइन्छ । अहिले नयाँ पीडिले राजनीतिको ‘र’ उच्चारण गर्न चाहन्न । यही अवस्थामा हामी संगठित नहुने हो भने नेपाली जनताको हालत प्लालेस्टाइनी जनताको जस्तो हुन्छ’, उनले भने । उनले अमेरिकालाई मानव जातिको सबैभन्दा दुश्मन देश भएको आरोप उनले लगाए । नेपाली प्रधानमन्त्रीलाई बधाई नदिने दलाई लामाले यसपटक दिएकोमा समेत उनले आशंका व्यक्त गरे ।  

उनले अहिलेसम्म जेन-जीको प्रतिनिधि नभेटिएको भन्दै देशको अवस्था भयाभहको अवस्थामा पुगेको बताए । नेपाल अर्ध उपनिवेश राष्ट्र भएको दाबी गर्दै केसीले बाहिरको शक्तिले सञ्चालन गरेका गतिविधि नेपाली जनताले प्रत्यक्ष रुपमा नदेख्ने समेत बताए ।  

अहिले विदेशी नागरिकलाई पनि वंशजको नागरिकता दिने विषय नै राष्ट्रका लागि घात भएको उनको दावी छ । विदेशीलाई वशंजको नागरिकता दिनेगरी कानुन बनाएर देशको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेतापति बनाउन प्रयत्न भइरहेको उनले बताए । 

प्रकाशित: २६ आश्विन २०८२ १७:४५ आइतबार