नेपालस्थित चिनियाँ राजदूत छन् सोङले आइतबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसँग छुट्टाछुट्टै बिदाइ भेट गरेका छन्।
कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले सिंहदरबारमा रहेको सभामुख घिमिरे र अध्यक्ष दाहालको कार्यकक्षमै पुगेर बिदाइ भेट गरेका हुन्।
भेटमा सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत छनलाई बधाई दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरूबिच सम्बन्ध मजबुत बनाउन उहाँले पुर्याएको योगदानको उच्च प्रशंसा गरे।
भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए।
अर्को भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबिचको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै दुई देशबिच कूटनीतिक सम्बन्धका साथै जनताबिचको सम्बन्ध प्रगाढ रहेको उल्लेख गरे।
दुवै भेटमा राजदूत छन् सोङले चीनले नेपाललाई कूटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताउँदै आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरे। राजदूत सोङले नेपाल र चीनबिच जनस्तरको सम्बन्ध उच्च भए पनि आर्थिक सम्बन्ध विकास हुन नसकेको बताए।
प्रकाशित: ६ पुस २०८२ १४:०० आइतबार