राजनीति

लिपुलेकबारे चीनले भन्यो: ‘हामी पक्ष बन्दैनौं, नेपाल-भारत आफैं मिलाउनुस्’

चीनले लिपुलेक सीमा विवादमा आफू पक्ष बन्न नचाहेको स्पष्ट पारेको छ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त विवाद नेपाल र भारतले द्विपक्षीय रूपमा समाधान गर्नुपर्ने धारणा राखेका हुन्।

प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि सचिव राईले प्रधानमन्त्री ओलीले लिपुलेकको विषयलाई दृढतापूर्वक उठाएको जानकारी दिए।

‘सन् १८१६ को सुगौली सन्धिले नेपालको सीमा निर्धारण गरेको हो। सो अनुसार महाकाली पूर्वका सबै भूभागहरू नेपाली भूभाग हुन्,’ सचिव राईले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘त्यो भूभाग प्रयोग गर्ने गरी भएको चीन-भारत सम्झौताप्रति नेपालको आपत्ति छ भन्ने स्पष्ट धारणा राख्नुभयो।’

त्यसको जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपालको दाबीलाई कमजोर नबनाउने तर सीमा विवादमा आफू पक्ष बन्न नचाहेको स्पष्ट पारेको सचिव राईले बताए।

‘उहाँको (राष्ट्रपति सी) को भनाइमा, नेपालको दाबीमा हाम्रो कुनै पनि प्रकारको सम्झौता वा कमी होइन। हाम्रो यो परम्परागत रूपमा नाका प्रयोग भइआएको हो, तर तपाईंहरूको जुन सीमा विवाद हो, त्यसमा हामी पक्ष बन्न चाहँदैनौं, तपाईंहरू दुई पक्षले समाधान गर्ने विषय हो भनेर बुझिदिनुहोला भन्ने खालको उहाँको भनाइ रह्यो,’ सचिव राईले भने।

प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा छन्। भेटका क्रममा नेपाल-चीन सम्बन्धका अन्य विविध पक्षमा पनि छलफल भएको थियो।

प्रकाशित: १४ भाद्र २०८२ २१:५१ शनिबार