राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन्।
गोरखा २ का प्रतिनिसभा सदस्यसमेत रहेका उनले यी दुई गाउँपालिका बाढीका कारण सङ्कटमा रहेको जानकारी दिए। सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी तटीय केही पालिकाहरुलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
सांसद बुर्लाकोटीले यहाँ सञ्चारकर्मीसंग कुराकानी गर्दै भोटेकोशी बाढीबाट चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकाका केही क्षेत्र पनि प्रभावित भएको जनाउँदै सरकारले यसलाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ भने।
यस विषयमा आफूले सरकार र पार्टीमा कुरा राखिसकेको जनाउँदै उनले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै दुवै पालिकाका प्रभावितलाई राज्यका तर्फबाट सम्बोधन गर्न सकिने बताए। उनले भने, 'बाढीले यी दुवै पालिकामा क्षति पुर्याएको छ। नदी तटीय क्षेत्रका बासिन्दा प्रभावित भएका छन्। नदी किनारमा रहेका पर्यटकीय होटल र उद्योगमा क्षति पुगेको छ। दुवै गाउँपालिका त्रिशूली नदीको वारी र पारी पर्दछन्। भोटेकोशीबाट आएको बाढी यिनै पालिकासँगैको त्रिशूली नदी हुँदै नारायणीमा मिसिएको हो।'
सरकारले रसुवाको उत्तरगया, गोसाइकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका, नुवाकोटकै किस्पाङ र तारकेश्वर गाउँपालिकाकालाई विपद्त सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिकालाई विपद्त सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
प्रकाशित: २२ भाद्र २०८३ १०:२४ सोमबार