राजनीति

निरन्तर वर्षा भइरहेको भन्दै प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले निरन्तर वर्षा भइरहेकाले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

मुख्यमन्त्री थापा मगरले मौसमजन्य प्रकोप नियन्त्रण गर्न नसकिने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताएका छन्। उनले भनेका छन्, 'मौसमजन्य प्रकोप हाम्रो सधैँको समस्या हो। मौसम र प्रकृति हाम्रो नियन्त्रणभन्दा बाहिरको विषय हो। यसलाई नियन्त्रण गर्न सकिँदैन, तर यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण भने अवश्य गर्न सकिन्छ र हाम्रो प्रयत्न यसैमा जारी छ।'

निरन्तर वर्षा भइरहेका कारण खोलानाला तथा नदीहरूको सतह बढ्दै गएको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले नागरिकलाई थप सचेत रहन आग्रह गरे। उनले भनेका छन्, 'निरन्तर वर्षा भइरहेको छ, खोलानाला तथा नदीहरूको सतह निरन्तर बढ्दै छ। त्यसैले सतर्क रहनुहोला। अत्यावश्यक नपरी बाहिर ननिस्कनुहोस्, यात्रा नगर्नुहोस्।'

मुख्यमन्त्री थापा मगरले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबै नागरिकले सावधानी अपनाउन तथा आफ्नो र परिवारको सुरक्षालाई प्राथमिकतामा राख्नसमेत आग्रह गरेका छन्।

प्रकाशित: ९ आश्विन २०८३ ०८:२९ शुक्रबार