राजनीति

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा शाहीले विश्वासको मत प्राप्त गरेका हुन्।

बैठकमा सहभागी ४० जना प्रदेश सभा सदस्य मध्ये शाहीको पक्षमा २१ र विपक्षमा १३ मत खसेको थियो। 

मुख्यमन्त्री शाहीलाई एमालेका आठ जना र आफ्ना १३ जना संसद्को मत प्राप्त गरे। एक सदस्य रहेको राप्रपा र नेकपा छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी प्रवेश गरेका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा तटस्थ रहे। 

एमालेका १० सांसद मध्ये नन्दा गुरुङ सभामुख छन् भने अर्का सांसद विनोदकुमार शाह बैठकमा उपस्थित भएनन्।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले शाह गम्भीर बिरामी भएर अस्पतालमा उपचार गराइरहेकाले उपस्थित नभएको जानकारी दिए। कांग्रेसका १५ सांसद मध्ये १३ जना मात्रै प्रदेशसभामा उपस्थित थिए।

विश्वासको मत माग्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा राजनीतिक दलहरू प्रतिपक्षी नभएको बताए। उनले कर्णालीको मूल प्रतिपक्षी यहाँको गरिबी, अशिक्षा, पछौटेपन र भौगोलिक विकटता भएको बताए।

‘यो चुनौतीविरुद्ध सबै एक ठाउँ उभिनु छ,’ उनले भने, ‘कर्णालीको भौतिक पूर्वाधारसहित समग्र विकासका लागि एक हुनु आवश्यक छ।’

उनले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका मुख्य राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता औल्याउँदै संसद्को प्रतिपक्ष दल नेपाली कांग्रेसबाट पनि विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरे।

उनले केन्द्रमा दुई दलबिच भएको तीन बुँदे सहमति अनुसार आफू मुख्यमन्त्री बनेको भए पनि सबैसँग सहकार्य र संवाद गर्दै अघि बढ्ने बताए।

उनले आफू ‘समृद्धि कर्णाली : सुखारी कर्णालीबासी’का लागि आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित: ३ भाद्र २०८३ १८:१७ बुधबार