कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा आफ्नो घरमा आगजनी र तोडफोड गर्नेहरूमाथि प्रहरीले कारबाही नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राज्यको कार्यकारी पदमा रहेको व्यक्तिले नै न्याय नपाएको अवस्थामा सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति गर्न नसक्ने बताए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछिको विध्वंसका क्रममा सुर्खेतस्थित मुख्यमन्त्री कँडेलको निजी निवासमा तोडफोड, लुटपाट र आगजनी भएको थियो।
सो घटनामा संलग्नहरू विरुद्ध आफूले प्रहरीमा किटानी जाहेरी दिए पनि हालसम्म सुनुवाइ नभएको उनको गुनासो छ।
‘म मुख्यमन्त्री हुँदा पनि प्रहरीमा आफ्नो घर लुटपाट गर्ने र आगजनी गर्नेहरूका विरुद्ध जाहेरी दिएँ, तर अहिलेसम्म कारबाही भएको छैन,’ प्रहरी प्रशासनप्रति आक्रोश पोख्दै कँडेलले भने, ‘मेरो त यो हालत छ भने आम नागरिकको अवस्था के होला ?’
विध्वंस मच्चाउने र कानुन हातमा लिनेहरूलाई कारबाहीको दायरामा नल्याएसम्म शान्ति सुरक्षाको अवस्था सुदृढ हुन नसक्ने उनले बताए।
‘अपराधीलाई उन्मुक्ति दिँदा दण्डहीनता बढ्छ, भदौ २३ र २४ गतेको विध्वंसमा संलग्नहरूलाई कारबाही नहुँदासम्म नागरिकले सुरक्षाको वास्तविक महसुस गर्न सक्दैनन्,’ उनले भने।
गोष्ठीमा मुख्यमन्त्री कँडेलले कर्णालीको शान्ति सुरक्षा, खुला सीमाबाट हुने तस्करी र राजमार्गका समस्याबारे पनि ध्यानाकर्षण गराएका थिए।
कार्यक्रमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रदेश प्रमुख सचिव वीरेन्द्रकुमार यादव, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग के.सी., नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक टेकेन्द्र कार्की, र पृतनापति उपरथी दीपेशजंग थापा लगायतको उपस्थिति थियो।
प्रकाशित: ९ पुस २०८२ १०:४८ बुधबार