जनता पुराना दलसँग असन्तुष्ट छन्। त्यही भएर उनीहरू यस पटक मत परिवर्तन गर्ने मुडमा देखिन्छन्। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायतका दलहरूले विकास र समृद्धिका लागि ठोस काम गर्न नसकेको उनीहरूको आरोप छ। त्यति मात्र होइन, पुराना दलहरू भ्रष्टाचारमा डुबेको र सुशासन दिन नसकेको आरोप छ। यसैमा टेकेर नयाहरूले पुरानालाई पत्तासाफ गर्ने भन्दै कहिले ‘नो नट अगेन’ त कहिले ‘चुपचाप घण्टी छाप’को नारा घन्काइरहेका छन्।
पुराना सबै एउटै ड्याङको मुला भएको र उनीहरू नसुध्रिने भन्ने भाष्य तयार गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरूले पुराना दलहरूमाथि दवाब बढाइरहेका छन्।
नयाँले लगाएको आरोपले पुराना दलहरू दबाबमा परेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे त्यसलाई चिर्न फिल्डमै उत्रिएका छन्। उनी आफू नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त लिएर भड्किएको जनमत फर्काउन गोरखामा खटिएका हुन्। निर्वाचन कार्यालयमा जानकारी गराएर चुनावी प्रचारका लागि गृह जिल्ला गोरखामा ६ दिनदेखि रहेका उनले आफू मुख्यमन्त्री भएपश्चात ल्याएको ३ फरक बजेटमा गोरखामा परेका योजना र बजेटको लिष्ट बोकेर चुनावी भाषण गर्ने गरेका छन्। नयाँको पक्षमा जनमत जाने आभाष पाएका उनले गोरखामा आफ्नो नेतृत्वको सरकारले सडक, खानेपानी, सिँचाइ, सामाजिक, पर्यटन, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा गरेका कामहरूको फेहरिस्त सुनाएर मत माग्ने गरेका छन्।
प्रदेश सरकारको रातो किताबमा गोरखा जिल्लामा विनियोजन गरेको योजना र बजेटको एक–एक हिसाब आफूसँग रहेको रेकर्ड फाईल देखाउँदै उनले कांग्रेसलाई मत दिन आग्रह गरेका हुन्। 'तपाईँहरूको सबै माग पूरा भयो त म भन्दिनँ, तर धेरै भएको छ,' उनले अगाडि भन्ने गरेका छन्, ‘गोरखा मेरो गृह जिल्लामा त हुने नै भयो, तर गण्डकीका प्रदेशभर भएको छ।’
उनले आफूले गरेको काम कांग्रेसको भएकाले आगामी निर्वाचनमा पनि कांग्रेसलाई मत दिन आग्रह गरे। ‘अब कि बार गगन सरकार’ भन्दै मत मागेका उनी अगाडि भन्छन्, ‘सरकार बनाउन कांग्रेसलाई बहुमत चाहिन्छ, समानुपातिकमा पनि रुखमै भोट हाल्नुहोस्।’
मुख्यमन्त्री पाण्डेले आफ्नो कारणले कांग्रेसजनले शीर निहुर्याउन नपरेको र आगामी दिनमा पनि शीर निहुरिन नपर्नेसमेत बताए। चुनावी वाचासमेत आफूले पूरा गरेको दाबी उनले गरे। उनले भने, ‘निर्वाचन क्षेत्रभित्रका मुख्य–मुख्य सडक बाह्रै महिना गाडी चल्ने बनाउँछु भनेको थिएँ, भएको छ, हुने क्रममा छ।'
हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै उनले कांग्रेस कार्यकर्ता विचलित नहुन आग्रह गरे। शीर ठाडो पारेर कांग्रेस र रुख भन्न आग्रह गर्दै उनले भने, ‘शीर ठाडो पारेर सबैले भनौं, परिवर्तनको नेतृत्व हिजो, आज र भोलि पनि कांग्रेसबाट मात्र सम्भव छ।’
मुख्यमन्त्री पाण्डेले सुशासनको थालनी पनि आफूले गरेको दाबी गरे। कांग्रेस, एमालेको भ्रष्टाचार र कुशासनका कारण देश खत्तम भयो भन्ने भाष्य निर्माण भइरहेका बेला उनले भने, ‘प्रदेशका विषयमा पनि प्रश्नहरू उठे, खर्च धेरै भयो भन्ने! हामीले खर्च कटौतीको काम एक वर्षअघि देखि थालेका थियौँ। जेनजी युवाहरूले नारा लगाउनुभन्दा अगाडि नै हामीले सुशासनको पक्षमा काम गर्न शुरु गरेका थियौं।’
देशको आर्थिक अवस्था नहेरी पुराना दललाई गाली नगर्न मतदातालाई उनले आग्रहसमेत गरे। पुराना दलहरूको पक्षपोषणमा लम्वेतान भाषणा गरेका उनले नयाप्रति आक्रोष र उसको अस्तित्वप्रति प्रश्न चिह्न उठाउने गरेका छन्। विचार, सिद्धान्त, दृष्टिकोण केही नभएका पार्टीहरू जनता झुक्याउँदै मत माग्न आएको उनको आरोप थियो। उनले अगाडि भने, ‘लहलहैको भरमा मतदान नगर्न र खुला किताबजस्तै नीति भएको कांग्रेसलाई मतदान नगर्नूस्, बुझेर मात्रै मतदान गर्नूस्।’
उनले आफ्नो पार्टी प्रश्नबाट नभाग्नेसमेत बताए। रास्वपा नेता बालेनप्रति लक्षित गर्दै उनले भने, ‘प्रश्नबाट भाग्ने, केही पनि भएन भन्ने भाष्य बनाएर झुटको खेती गर्नेसँग सचेत रहनुहोला र भन्नुहोला, के गर्यो? भन्न पाउने अधिकार नै नेपाली कांग्रेसले ल्याइदिएको हो।’
कांग्रेसले गोरखा १ मा प्रेम खत्री र २ मा प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ।
प्रकाशित: १० फाल्गुन २०८२ १८:५२ आइतबार



