भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागी सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक दिने भएका छन्।
मुख्यमन्त्री खगराज भट्ट र ९ मन्त्रीले बाढी पीडितलाई एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाशबहादुर रावलले बताएका छन्।
यसैगरि सुदूरपश्चिम प्रदेश सरकारले बाढी प्रभावितको राहत र पुनर्स्थापनाको लागी दुई करोड सहयोग गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले बाढी पीडितको राहत र पुनर्स्थापनाका लागि दुई करोड रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको मन्त्री रावलले बताए।
‘प्रदेश विपद् व्यवस्थापन कोषबाट दुई करोड रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरिएको छ’उनले भने।
यसैगरी बाढी प्रदेश सरकारले प्रभावित क्षेत्रमा उपचारका लागि स्वास्थ्यकर्मी टोली पनि पठाउने निर्णय गरेको छ ।
सुदूरपश्चिमका १२९ अझै सम्पर्कविहीन, ११ जना सम्पर्कमा आए
भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर सुदूरपश्चिम प्रदेशका १ सय ४० जना सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन भएका मध्ये शुक्रबार साँझसम्म ११ जना सम्पर्कमा आएका छन् भने १ सय २९ जना सम्पर्कविहीन रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर बिष्टले बताएका छन्।
‘प्रहरीलाई प्राप्त जानकारी अनुसार सुदूरपश्चिमका १ सय ४० सम्पर्कविहीन मध्य ११ जना सम्पर्कमा आइसकेका छन्’उनले भने, ‘अझै १ सय २९ सम्पर्कविहीन रहेका छन्।’ कञ्चनपुरका ९, डडेलधुरा १ र कैलालीका १ जना सम्पर्कमा आएको उनले बताए।
बाढीमा परेर सम्पर्कविहीन हुनेमा सुदूरपश्चिमका ९ वटै जिल्लाका रहेका छन्। सबैभन्दा धेरै कैलालीका ४९ जना सम्पर्कविहीन भएका हुन्।
यसैगरी कञ्चनपुरका ३२, डडेल्धुराका १७, बाजुराका १४, बैतडीका ८, दार्चुला ४, डोटीका २, बझाङका २ र अछामका १ जना सम्पर्कविहीन भएको उनले बताए।
सम्पर्कविहीन हुनेमा रसुवामा विभिन्न हाइड्रो पावरमा काम गर्ने मजदुर, प्रहरी, निजामती कर्मचारी र तथा विभिन्न निजी क्षेत्रमा कार्यरत कर्मचारी रहेका छन्।
प्रकाशित: १२ भाद्र २०८३ १८:५५ शुक्रबार



