राजनीति

आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै समाचार आधारहीन, झुटा र कपोलकल्पित भएको बताएका छन्। 

प्रधानन्यायाधीश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै अनलाइन पत्रिकालगायत सञ्चारमाध्यममा ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण’ लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।  

विज्ञप्तिमा आफ्नो नाम जोडिएका व्यक्ति तथा प्रसङ्गसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ। ती व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान तथा सम्पर्क नरहेको र कहिल्यै भेटघाटसमेत नभएको शर्माले उल्लेख गरेका छन्। 

समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशसमेत नभइसकेको अवस्था रहेको उनको भनाइ छ। जनतामा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रसारित समाचारको भर्त्सना गर्दै उनले त्यस्ता सामग्रीको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। 

बिहीबार न्यायाधीश फुयालसँग सम्बन्धित कुराकानीको विवरणसहितको ह्वाट्सएप संवाद सार्वजनिक भएपछि शर्माले त्यसको खण्डन गरेका हुन् । 

संवादमा सापकोटाले रोहित अग्रवालको बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको स्क्रिनसट पठाएका थिए। त्यसपछि उनले ‘गुड मर्निङ’ भन्दै निवेदनबारे सन्देश पठाएको देखिन्छ। 

उनले लेखेका छन्, ‘यसलाई रोक्नु है हजुर, यसमा प्रधानमन्त्रीको पनि चासो छ, खारेज नै गर्दिनु होला।’ त्यसलगत्तै उनले ह्वाट्सएपमार्फत फोन गरेको विवरणमा उल्लेख छ। 

उक्त फोन नउठेपछि फुयालले जवाफ पठाएको संवादमा देखिन्छ। सापकोटाको ‘मिस्ड कल’को जवाफ दिँदै फुयालले लेखेका छन्, ‘मैले यो ढिलो देखेँ । उनलाई छाड्नुपर्ने आधारै रहेछ । हामीले उनलाई दुई करोड धरौटी मागेका छौँ । गोल्छालाई  (शेखर गोल्छा) एक करोड मागिएको रहेछ।’  

फुयालले रोहित गुप्तालाई धरौटीमा छाड्ने आदेशसम्बन्धी सर्वोच्च अदालतको वेबसाइटको लिंकसमेत सापकोटालाई पठाएको विवरणमा उल्लेख छ। त्यसपछि फुयालले भोलिपल्ट हिमालयन होटलमा भेट्ने प्रस्ताव गरेको र सापकोटाले ‘हुन्छ’ भन्दै जवाफ दिएको संवादमा देखिन्छ। 

प्रकाशित: १२ कार्तिक २०८३ १६:१० बिहीबार