राजनीति

प्रमुख अर्यालको प्रश्न : प्रधानमन्त्रीज्यु, रंगशाला पनि जलाइएको भए एनपीएल उद्घाटन गर्न पाउनुहुन्थ्यो ?

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले प्रधानमन्त्रीलाई जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटना स्मरण गर्न आग्रह गरेका छन्।

अर्यालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई प्रश्न गर्दै जेनजी आन्दोलनका क्रममा क्रिकेट रंगशाला पनि जलाइएको वा भत्काइएको भए त्यहाँ उपस्थित भएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन गर्न पाउने अवस्था रहन्थ्यो कि रहँदैनथ्यो भन्दै प्रश्न गरेका हुन्।

‘प्रधानमन्त्रीज्यू! कथंकदाचित त्यो क्रिकेट रंगशाला पनि जेनजी आन्दोलनमा जलाइएको वा भत्काइएको भए तपाईंले त्यहाँ उपस्थित भएर एनपीएल क्रिकेटको उद्घाटन गर्न पाउनु हुँदैनथ्यो, हैन? यति कुरा त मान्नुहुन्छ नि!’ उनले भनेका छन्।

अर्यालले आन्दोलनका क्रममा अन्य संरचनामा पनि क्षति नपुर्‍याइएको भए राम्रो हुने धारणा व्यक्त गरेका छन्। उनले ती घटनालाई स्मरण गर्दै आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन सचेत हुनुपर्ने संकेत गरेका छन्।

‘त्यस्तै अरू संरचनाहरू पनि नजलाइएको भए कति राम्रो हुन्थ्यो होला! आज ती खराब दिनहरू सम्झिरहनुभएको छ? सम्झिनुभयो भने तपाईंलाई र यो मुलुकलाई फाइदा नै हुन्छ,’ अर्यालले लेखेका छन्।

प्रकाशित: १० कार्तिक २०८३ ११:३५ मंगलबार