प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले वर्तमान सरकार जनताको नजरमा ढलिसकेको बताएका छन्।
उनले अंकगणित र कानुनी रूपमा सरकार कायम रहे पनि नैतिक र व्यावहारिक रूपमा पूर्ण असफल भएको आरोप लगाए।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद दाहालले ओली सरकारले एक वर्षमा भ्रष्टाचार र कुशासनमा ‘पीएचडी’ गरेको टिप्पणी गरे।
‘यो सरकार अंकगणित र कानुनी हिसाबले छ, तर जनताको नजरमा छैन, जनताको नजरमा सरकार ढलिसक्यो। विकास निर्माणमा, सार्वजनिक सेवा प्रवाहमा र अन्तर्राष्ट्रिय जगतमा सरकारको उपस्थिति देखिँदैन,’ उनले भने।
सांसद दाहालले सरकार भ्रष्ट र बिचौलियाको संरक्षणमा केन्द्रित रहेको गम्भीर आरोप लगाए। ‘यो सरकारको सफलता भनेको भ्रष्टहरूको रक्षा गर्ने हो। जेलमा रहेका भ्रष्टहरूलाई छुटाइयो तर सरकार र सरकार प्रमुखसँग जोडिएका व्यक्तिहरूका फाइल खोलिएका छैनन्,’ उनले भने।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण र गिरिबन्धु टी-स्टेट जस्ता ठूला भ्रष्टाचारका फाइलहरू नखोलिएकोमा आपत्ति जनाए।
सरकारको एकवर्षे कार्यकालको समीक्षा गर्दै दाहालले आर्थिक कुशासन बढेको दाबी गरे। ‘एक वर्षमा करिब ६ खर्ब सार्वजनिक ऋण थपिएको छ, तर एक खर्ब पनि विकास बजेट खर्च भएको छैन,’ उनले भने। असार मसान्तमा बजेट सक्न देखाइने ‘असारे विकास’ केवल कमिसनका लागि भएको उनको आरोप थियो।
दाहालले आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहालले सुरुमै भनेजस्तै यो सरकार बिचौलिया र माफियाको जगमा बनेकाले जनताप्रति उत्तरदायी नभएको पुष्टि भएको बताए।
प्रकाशित: २८ असार २०८२ १७:३६ शनिबार