राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले मुलुकमा लामो समयदेखि थुप्रिएको बेथिति अन्त्य गर्दै दिगो परिवर्तनका लागि सरकारलाई समय र नागरिकको निरन्तर साथ आवश्यक रहेको बताएका छन्।
रास्वपा रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पदस्थापना, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा महामन्त्री आचार्यले चार महिनाको अवधिमै सरकारको सम्पूर्ण कामको मूल्याङ्कन गर्नुभन्दा सुधारका प्रयासलाई निरन्तरता दिनुपर्ने बताए। उनले देश निर्माणका लागि तत्काल परिणाम खोज्नेभन्दा दीर्घकालीन आधार तयार गर्नुपर्नेमा जोड दिए।
'छत्तीस वर्षदेखि बिग्रिएको व्यवस्था चार महिनामै परिवर्तन हुन्छ भन्ने हुँदैन। छिटो परिणाम देखाउने नाममा गरिएको काम दिगो नहुन सक्छ। देश बलियो बनाउने आधार तयार गर्न समय लाग्छ', महामन्त्री आचार्यले भने।
महामन्त्री आचार्यले रास्वपा तथा सरकारका काममा कमजोरी देखिए खुलेर प्रश्न गर्न नागरिकलाई आग्रह गरे। नागरिकको प्रश्न र खबरदारीलाई आफूहरूले सकारात्मक रूपमा लिने उल्लेख गर्दै उनले त्यस्ता प्रश्नले पार्टीलाई थप जिम्मेवार र बलियो बनाउने बताए। 'हामीले गलत काम गर्यौँ भने प्रश्न गर्न नहिचकिचाउनुहोस्। तपाईँहरूको प्रश्नले हामीलाई सच्याउने र बलियो बनाउने काम गर्छ', उनले भने।
सरकारप्रति नागरिकले गरिरहेको खबरदारीलाई विरोधका रूपमा मात्र बुझ्न नहुने महामन्त्री आचार्यले बताए। सरकारसँग नागरिकको अपेक्षा धेरै भएकाले प्रश्न र आलोचना भइरहेको उनको भनाइ थियो।
रास्वपा स्थापना भएको चार वर्ष पुगेको उल्लेख गर्दै उनले सरकार सञ्चालनको प्रारम्भिक चरणमै सबै समस्या समाधान भइसक्ने अपेक्षा व्यावहारिक नहुने बताए। सरकारले सही दिशामा काम गर्न खोजेको जानकारी दिए।
प्रकाशित: २४ श्रावण २०८३ ०७:०२ आइतबार