राजनीति

पार्टी एकताबद्ध बनाउन सबैलाई कांग्रेसमा सहभागी हुन चन्द्र भण्डारीको आग्रह

नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका विगतका मतभिन्नता र असमझदारीलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

निर्वाचन आयोगबाट नेपाली कांग्रेस पार्टी अद्यावधिक भइसकेको उल्लेख गर्दै उनले पार्टी कुनै एक व्यक्ति वा पुस्ताको मात्र नभई पाँच पुस्ताको त्याग, तपस्या, पसिना र योगदानबाट निर्माण भएको साझा घर भएको बताएका छन्।

उनले पार्टी निर्माणमा सबैको सहभागिता, संघर्ष र लगानी जोडिएको भन्दै आफ्नै घरलाई अझ बलियो बनाउने साझा संकल्पसहित सबैलाई पार्टीमा सहभागी हुन आह्वान गरेका छन्।

भण्डारीले विगतका मतभिन्नता र असमझदारीलाई संवादबाट समाधान गरी पार्टीलाई एकताबद्ध, सुदृढ र समयानुकूल बनाउनु सबैको साझा दायित्व भएको बताएका छन्।

'हामीले बनाएको प्रजातान्त्रिक घरभित्र जनताको चाहनामा जो कोही प्रधानमन्त्री हुन सक्छ भने, कार्यकर्ताको चाहनामा पार्टी सभापति पनि जो कोही हुन सक्छ। विमति किन ?' उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्।

इतिहासको विरासत जोगाउँदै वर्तमानको जिम्मेवारी पूरा गर्न र भावी पुस्ताका लागि सक्षम पार्टी निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले व्यक्ति र गुटभन्दा विचार र पार्टी ठूलो हुनुपर्ने बताएका छन्।

उनले 'व्यक्ति होइन, विचार ठूलो; गुट होइन, पार्टी ठूलो; स्वार्थ होइन, लोकतन्त्र र राष्ट्रहित ठूलो' भन्ने सन्देशसमेत दिएका छन्।

प्रकाशित: ११ मंसिर २०८३ ०६:५७ शुक्रबार