राजनीति

‘राष्ट्रिय भेला’को आयोजक समितिमा नाम समावेश गरिएको भन्दै अपाङ्ग संघका अध्यक्ष चम्लागाईंको आपत्ति

नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि आयोजना हुन लागेको भनिएको ‘राष्ट्रिय भेला’को मूल आयोजक समितिमा आफ्नो नाम बिना सहमति समावेश गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। उक्त समिति ५५१ सदस्यीय छ।  

अपिलमा अध्यक्ष चम्लागाईंले उक्त भेलासँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने तथा विभाजनकारी गतिविधिमा आफू सहभागी नहुने बताएका छन्। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षका रूपमा आफ्नो नाम समावेश गरिएको विषय आफूलाई स्वीकार्य नभएको उनको भनाइ छ।

अपिलमा उनले पार्टीभित्र असन्तुष्टि हुन सक्ने भए पनि त्यसको समाधान विधान, विधि र संगठनात्मक प्रक्रियाभित्रै खोजिनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसको वैधानिक नेतृत्व र संस्थागत संरचनाको विकल्प कुनै पनि समानान्तर वा अवैधानिक भेला हुन नसक्ने उनको तर्क छ।

चम्लागाईंले नेतृत्व परिवर्तनको लोकतान्त्रिक बाटो महाधिवेशन नै भएको उल्लेख गर्दै असन्तुष्ट नेताहरूलाई १५औँ महाधिवेशनमा नेतृत्वको परीक्षामा उत्रिन आग्रह गरेका छन्। उनले समानान्तर गतिविधि, भ्रम सिर्जना गर्ने प्रयास तथा विभाजनको राजनीति त्यागेर खुला लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरेका छन्।

उनले कांग्रेस लाखौं कार्यकर्ताको त्याग, बलिदान र जनविश्वासबाट बनेको संस्था भएकाले पार्टीलाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। साथै, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा आबद्ध सदस्य तथा कांग्रेसका कार्यकर्ताहरूलाई वैधानिक नेतृत्वको पक्षमा दृढतापूर्वक उभिन र यस्ता गतिविधिमा सहभागी नहुन अपिल गरेका छन्।

चम्लागाईंले पार्टीभित्रका मतभेद संवाद, सहकार्य र विधानसम्मत प्रतिस्पर्धामार्फत समाधान गर्दै एकताबद्ध र समयानुकूल कांग्रेस निर्माणमा जुट्न सबै पक्षलाई आग्रह गरेका छन्।

प्रकाशित: १८ श्रावण २०८३ १४:१५ सोमबार