राजनीति

पत्रकार पक्राउ गरेर जनदबाबमा छाड्ने प्रवृत्तिप्रति सभापति थापाको आपत्ति

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै थापाले पत्रकारलाई पक्राउ गरेर पछि रिहा गर्नुको सट्टा कानुनविपरीत पक्राउ गर्ने र दुःख दिने गतिविधि नै बन्द गर्न सरकारसँग माग गरेका हुन्।

उनले समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्ने शैलीले शाहीकालको निरंकुशताको झल्को दिएको बताए। विगतमा पनि शासकहरूले आफूमाथि प्रश्न उठेपछि सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि हस्तक्षेप गरेका घटना रहेको उनको भनाइ छ।

‘आज पुनः तिनै विगतका निरंकुश प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखद र चिन्ताजनक विषय हो,’ थापाले विज्ञप्तिमा भनेका छन्।

उनले नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको पक्षमा उभिँदै आएको बताएका छन्। पार्टीले निरंकुश र स्वेच्छाचारी कदमको विरोध गर्दै आएको र आगामी दिनमा पनि त्यसविरुद्ध उभिने उनको भनाइ छ।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै थापाले कुनै सञ्चार माध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपणका लागि स्थापित कानुनी प्रक्रिया अपनाउनुपर्ने बताए।

उनका अनुसार प्रेस काउन्सिललगायत संस्थागत निकायमार्फत यस्ता विषयको समाधान खोज्न सकिन्छ। ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सिधै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनको मान्यताविपरीत भएको उनले बताएका छन्।

‘सञ्चार माध्यम र पत्रकारमाथि गरिएको यो कदम अत्यन्त निन्दनीय र आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख छ।

थापाले नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाबाहिर गएर चालिएका कदम सच्याउन सरकारसँग माग गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०८३ ०६:२९ शनिबार