राजनीति

गृहमन्त्रीलाई अध्यक्ष राईको आग्रह : प्रहरी देख्दा नागरिक डराउने वातावरण तुरुन्त सच्याइयोस्

श्रम संस्कृत पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको कार्यशैली र प्रहरी प्रशासनको पछिल्लो व्यवहारप्रति संसद्‌मा गम्भीर प्रश्न उठाएका छन्। 

सोमबार संसद्‌मा बोल्दै उनले शान्ति सुरक्षा अमनचयन गर्नुपर्ने प्रहरीकै कारण नागरिकमा त्रास बढेको भन्दै गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका हुन्। उनले यसो भनिरहँदा संसद्‌मा नै भएका गृहमन्त्री गुरुङ मुस्कुराइरहेका देखिन्थे।

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएका प्रहरीका केही गतिविधिप्रति लक्षित गर्दै राईले आक्रोश पोखेका हुन्। विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाइएको घटनाबारे उनले भने, ‘त्यसरी मोबाइलको हत्या गर्न आदेश दिने कसको रचनात्मक निर्णय थियो? त्यस्तो रचनात्मक निर्णय गर्ने व्यक्तिलाई नसियत दिनुपर्छ।’

यस्तै, वन प्रहरीको उपस्थितिमा गरिब ट्याम्पो चालकको ट्याम्पो भीरबाट गुल्टाइएको दृश्यले आफूहरू मर्महत भएको भन्दै उनले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरे। प्रहरीले घरको छानामा ढुङ्गा हान्दै गरेको दृश्य देखिएको भन्दै उनले अचम्म व्यक्त गरेका हुन्। 

शान्ति सुरक्षाको अनुभूति गराउनुपर्ने प्रहरी नै उद्दण्ड बनेको आरोप लगाउँदै राईले थपे, ‘प्रहरी देख्नेबित्तिकै हामीलाई शान्ति सुरक्षाको महसुस हुनुपर्छ। प्रहरी आयो, अब हामी सुरक्षित भयौँ भन्ने हुनुपर्नेमा अब प्रहरी आयो, यसले केही खोस्छ कि भन्ने वातावरण भइरहेको छ। प्रहरी देख्दा नागरिकलाई सुरक्षा र शान्तिको महसुस हुन जरुरी छ। नागरिक आतंकित हुनुपर्ने र डर मान्नुपर्ने वातावरण तुरुन्त सच्याइयोस् र लोकतन्त्रको ग्यारेन्टी गरियोस्।’

सो अवसरमा अध्यक्ष राईले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन माग गर्दै सभामुखको आदेश पर्खिरहेको बताए। प्रधानमन्त्री आफैँले आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग यथावत रहेको उनको भनाइ छ। 

उनले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) छिरेर नेपाली दाजुभाइ दिदीबहिनीलाई आतंकित बनाउने र अतिक्रमण गर्ने गतिविधिविरुद्ध आवाज उठाउने युवा पक्राउ परेको भन्दै आपत्ति जनाए।

सांसद राईले भने, ‘त्यसको विरुद्धमा माइतीघरमा दैलेखका अजय सोडारी र हुम्लाका बर्जन बिकले लोकतन्त्रले दिएको वाक स्वतन्त्रता प्रयोग गरेर विरोध गरिरहँदा प्रहरी प्रशासनले नियन्त्रणमा लिएको छ। अहिले हिरासतमा राखेर झुटा मुद्दा चलाउने भन्ने खालको कुरा आएको छ, त्यता गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु र ती दुई युवालाई दुःख नदिन अनुरोध गर्छु।’

प्रकाशित: १ असार २०८३ १२:२२ सोमबार