राजनीति

उद्धार र मानवीय सहयोगलाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको अपिल

रास्वपा सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको जीवनरक्षा, सुरक्षित उद्धार तथा मानवीय सहयोगलाई पहिलो प्राथमिकतामा राख्न आह्वान गरेका छन्।

सभापति लामिछानेले सम्पूर्ण नेता, सदस्य तथा शुभेच्छुकहरूलाई संयमित, जिम्मेवार र समन्वयात्मक ढंगले अघि बढ्न आग्रह गरेका हुन्।

उनले बाढी तथा अन्य विपद्को जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन्।

साथै, विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरेका छन्।

यस्तै, सभापति लामिछानेले स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण नेता, कार्यकर्ता तथा स्वयंसेवकहरूलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दै उद्धार, राहत वितरण तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिएका छन्।

विपद्को यस कठिन घडीमा सबैको साझा प्राथमिकता नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार तथा प्रभावित परिवारलाई आवश्यक मानवीय सहयोग गर्न अपिल गरेका छन्।

प्रकाशित: १० भाद्र २०८३ १२:०३ बुधबार