राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यही असोज ९ गतेदेखि ११ गतेसम्म देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
सभाको आजको बैठकमा अध्यक्ष दाहालले अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाले आधिकारिक र अद्यावधिक सूचनाको जानकारी लिन, अत्यावश्यक बाहेक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपिल गरेका हुन्।
नेपाल मौसम विज्ञान विभागका अनुसार उत्तर अन्दमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई अति भारी वर्षाको सम्भावना देर्खिएको हो।
विभागले सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा ग्रेगान बहावको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहने, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकोले पूर्वतयारी अपनाउन आह्वान गरेको छ।
बैठकमा अध्यक्ष दाहालले जोखिम न्यूनीकरण र प्रतिकार्यको लागि सङ्घ, प्रदेश, स्थानीय तहलगायतका सरकारी संयन्त्रलाई सक्रिय एवं पूर्वतयारी अवस्थामा रहन र सम्भावित जोखिम तथा त्यसबाट पर्ने प्रभावबारे नागरिकलाई सुसूचित गराई सचेतना अभिवृद्धि गर्नसमेत सम्बद्ध सबैलाई निर्देशन गरे।
यसैगरी, बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए।
त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गरेका थिए।
राष्ट्रिय सभाको अर्को बैठक यही असोज १२ गते दिउँसो १ः१५ बजे बस्नेछ।
प्रकाशित: ८ आश्विन २०८३ १८:२४ बिहीबार