राजनीति

केन्द्रीय कमिटी बैठक : एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाउने

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सम्पन्न भएकाे छ।

महाधिवेशनकाे बन्दसत्र सुरु हुनु अघि बसेकाे बैठकले पार्टीको वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संशोधित विधानअनुसार अबको केन्द्रीय कमिटी संरचनाबारे जानकारी गराए। उनका अनुसार बन्द सत्रबाट अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ।

गौतमले केन्द्रीय कमिटीअन्तर्गत स्थायी कमिटी ३३ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय रहने जानकारी दिए। उनका अनुसार यसपटक पार्टीको मूल संरचना र पदाधिकारीको सङ्ख्या पुनःसमायोजन गरिएको हो भने अन्य वैचारिक वा सांगठनिक धारामा परिवर्तन गरिएको छैन।

यसअघि तीन महिनाअघि ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी रहने व्यवस्था गरेको थियो। त्यति बेला २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी संरचना कायम गरिएको थियो।

नयाँ निर्णयसँगै पदाधिकारी सङ्ख्या र केन्द्रीय कमिटीको आकार दुवै विस्तार भएको छ। पार्टी नेतृत्वले यो संरचनालाई संगठन विस्तार, समावेशिता र जिम्मेवारी बाँडफाँटलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको परिवर्तनको रूपमा व्याख्या गरेको छ।

प्रकाशित: २८ मंसिर २०८२ १३:५८ आइतबार