राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जनताले दिएको दुई तिहाइ नजिकको जनमतलाई एआई र विदेशीको उपज भन्नु प्रतिपक्षी दलको हारपछिको आवेग मात्र भएको बताएका छन्।
संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले रास्वपा नेतृत्वको सरकारलाई विदेशी र गैरसरकारी संस्थाले बनाइदिएको तथा चुनावको नतिजा एआईको जादु भएको आरोप लगाएपछि सांसद सुनारले त्यसको जवाफ दिएका हुन्।
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यत्रो दुई तिहाइ जनमतलाई, यत्तिका धेरै जनताले दिएको मतलाई विदेशी भन्नु वा एआई भन्नु उहाँहरूको हारको आवेग र आवेश मात्र हो। यो मानवीय स्वभाव पनि हो। हारेपछि मान्छेले यस्ता अभिव्यक्ति दिन्छन्।’
सञ्चारकर्मीले ‘के यो पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछिको आक्रोश हो ?’ भनी सोधेको प्रश्नमा उनले सहमति जनाए।
ओली पक्राउ परेपछि विपक्षी दलमा देखिएको छटपटी र आक्रोशका कारण नै यस्ता आधारहीन टिप्पणी आएको उनको भनाइ छ। आम नेपाली जनताले यो कुरा स्पष्ट बुझिसकेकाले आफूहरूले यसको छुट्टै खण्डन गरिरहनु आवश्यक नभएको उनले सुनाए।
यसका साथै, दलित अधिकारकर्मी समेत रहेका सांसद सुनारले रास्वपा सभापति रवि लामिछानेले रोस्ट्रमबाटै दलित समुदायसँग माफी मागेको विषयलाई ऐतिहासिक र सुखद क्षण भनेका छन्।
हिजोका दिनमा सडकमा नेल र हतकडी लगाएर न्यायको भिख माग्ने आफू आज संसदमा पुगेको स्मरण गर्दै उनले सुनाए, ‘सरकारले ६० लाख दलितहरूको सम्मान गर्दै माफी मागेको छ। वर्षौंदेखि विभेदमा परेका समुदायको शिर आज उच्च भएको छ, यो विश्वभर नै प्रशंसाको विषय बन्नेछ।’
उनले आफू उत्पीडनमा परेका र उपेक्षामा पारिएका नागरिकको प्रतिनिधिको रूपमा सदनमा आएको बताउँदै देशलाई संकटबाट पार लगाउन पूर्ण रूपमा समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रकाशित: १९ चैत्र २०८२ २०:२७ बिहीबार