राजनीति

चीन भ्रमणको उपलब्धिबारे सभापति लामिछानेलाई ब्रिफिङ, सहकार्यका सम्भावनाबारे छलफल

चीनको १२ दिने भ्रमण सकेर स्वदेश फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्ता, आर्थिक गतिविधिको अवलोकन र द्विपक्षीय सहकार्यका सम्भावनाबारे पार्टी नेतृत्वलाई जानकारी गराएको छ।

चीन भ्रमणबाट फर्किएपछि आज पार्टी महामन्त्री तथा भ्रमण टोलीका प्रमुख विपिनकुमार आचार्यले पार्टी सभापति रवि लामिछानेलाई भेटेर भ्रमणका उपलब्धिबारे ब्रिफिङ गरेका हुन्।

नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, चच्याङ र बेइजिङको भ्रमणमा गएको आचार्य नेतृत्वको २० सदस्यीय टोली नोभेम्बर २६ मा नेपाल फर्किएको थियो।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्तालाई विशेष महत्त्वका साथ हेरिएको छ। उक्त भेटमा दुई पार्टीबीचको सम्बन्ध विस्तार, राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको आचार्यले जानकारी गराएका थिए।

त्यस्तै, चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय तहदेखि स्थानीय काउन्टी तहसम्मका नेताहरूसँग भएका संवाद र अन्तरक्रियाबारे पनि उनले सभापति लामिछानेलाई अवगत गराएका थिए।

राजनीतिक भेटघाटसँगै टोलीले चीनका विभिन्न उद्योग तथा व्यावसायिक क्षेत्रको अवलोकन गर्नुका साथै विपद् आउनुअघि गरिने तयारी, विपद्का समयमा अपनाइने रणनीति र विपद्पछिको व्यवस्थापन प्रणालीबारे समेत जानकारी लिएको थियो।

भ्रमणका क्रममा नेपाल र चीनबीच द्विपक्षीय सहकार्य विस्तार गर्न सकिने विभिन्न सम्भावनाबारे पनि छलफल भएको आचार्यले बताएका छन्।

भ्रमणबाट प्राप्त राजनीतिक अनुभव, ज्ञान र सिकाइलाई पार्टीको आन्तरिक कार्यप्रणालीमा समेट्नुका साथै देशको विकाससँग जोड्नुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन्। उनले भ्रमणका क्रममा भएका छलफल र स्थापित राजनीतिक सम्बन्धलाई व्यवहारमा उतार्ने गरी आवश्यक पहल गर्न प्रतिनिधिमण्डललाई निर्देशन दिएका छन्।

प्रकाशित: ११ मंसिर २०८३ १२:५६ शुक्रबार