राजनीति

बि पि स्मृति दिवस : जेनजी भन्छन् बिपिको विचारलाई व्यवहारमा उतार्नु

नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपि) कोइरालाको ४४औँ स्मृति दिवसमा जेनजी अभियन्ताहरूले उनीलाई स्मरण गरेका छन्। उनीहरुले  बीपीका विचार, लोकतान्त्रिक आदर्श र राजनीतिक विरासतलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन्। 

जेनजी अभियान्ता तजुना पाण्डेले बिपि कोइराला नेपाली कांग्रेसका नेता मात्र नभई राजनेता भएको बताउँदै उनले राजनीति कुनै दलको सीमाभित्र सीमित नभई लोकतन्त्र, जनअधिकार, सामाजिक न्याय र नागरिक सम्मानमा आधारित रहेको बताएकी छन्। 

सामाजिक सञ्जालमार्फत उनले आजको राजनीतिक परिवेशमा बीपीका विचारभन्दा उनको नामको बढी प्रयोग भइरहेको महसुस बताउँदै उनका विचारलाई आत्मसात् गर्नुको सट्टा व्यक्तिगत स्वार्थ वा गुटगत राजनीति वैध ठहर गर्न बीपीको नाम लिने प्रवृत्ति बढ्दै गएको बताएकी छिन्। 

साथै उनले पछिल्लो समय देशमा लोकतान्त्रिक संकटबारे बहस भइरहेको र नेपाली कांग्रेसभित्र नेतृत्व प्रतिस्पर्धा र गुटगत ध्रुवीकरण अझ गहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन्। 

यस्तै, जेनजी अभियान्ता माजिद अन्सारीले बिपि कोइरालालाई सम्झँदै लोकतान्त्रिक आन्दोलनप्रति अडिग निष्ठा राख्ने नेताका रूपमा स्मरण गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै पनि आन्दोलनकारीलाई तुलसी गिरीजस्तो सम्झौतावादी बन्न सजिलो हुन्छ, अवसरवादबाट तत्कालीन लाभ पनि मिल्न सक्छ। तर राणा शासन र पञ्चायतसँग सम्झौता नगरी लोकतान्त्रिक आन्दोलनको निष्ठा कायम राख्ने बीपीजस्तो कम्रेड बन्न धेरै कठिन हुन्छ।’  

इतिहासले अन्ततः सिद्धान्त र निष्ठाका पक्षमा उभिने व्यक्तिहरूलाई नै सम्झने भन्दै अन्सारीले बीपीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

त्यसैगरी अर्की जेनजी अभियान्ता रक्षा बमले बिपि कोइरालाको व्यक्तित्व कुनै दलको सीमाभन्दा धेरै माथि रहेको बताएबकी छिन् ।उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘लोकतन्त्रमाथि प्रश्न उठ्ने प्रत्येक समयमा, नागरिक अधिकारमाथि प्रहार हुने प्रत्येक क्षणमा र सत्य बोल्ने साहस आवश्यक पर्ने हरेक अवस्थामा हामीले बीपीलाई सम्झनुपर्छ।’  

बिपिका विचार र आदर्श आज पनि समाजमा जीवित रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रताको रक्षा गर्न बीपीको राजनीतिक दर्शन सान्दर्भिक रहेको बताएकी छन्। 

नेपाली कांग्रेसले बुधबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी पार्टीका संस्थापक नेता बिपि कोइरालाको ४४औँ स्मृति दिवस मनाएको छ।   

प्रकाशित: ६ श्रावण २०८३ १४:३७ बुधबार