नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको खुलेर प्रशंसा गर्दै देउवा नै कांग्रेसको नेता भएको बताएका छन्।
राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको स्मरण गरे। उनले देउवाको राजनीतिक योगदान र पार्टीभित्रको भूमिकाको प्रशंसा गर्दै उनको नेतृत्वमा कांग्रेस अघि बढ्ने बताए।
“शेरबहादुरजीलाई बीपी कोइरालाले पश्चिमको राजकुमार भन्नुहुन्थ्यो,” कोइरालाले भने।
उनले देउवा पहिलोपटक बनारस आउँदा आफूले घुमाएको प्रसंगसमेत सुनाए। देउवा राष्ट्रिय भेलामा सहभागी भएपछि कार्यक्रम थप उत्साहपूर्ण बनेको उनको दाबी थियो।
“उहाँको स्वागतको लागि हिजो जुन उत्साह देखेँ, मलाई त अचम्म लाग्यो। शेरबहादुरजी नै हाम्रो नेता हो। हाम्रो सभापति शेरबहादुरजी हो। उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ,” कोइरालाले भने।
कोइरालाले कांग्रेसलाई एकजुट बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको स्पष्ट पारे। पार्टीभित्र देखिएका मतभेद र चुनौतीबीच कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन भेलाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
उनले पार्टीको नेतृत्व, संगठन र कार्यकर्ताबीच एकता कायम गर्दै कांग्रेसलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। देउवाप्रति देखिएको कार्यकर्ताको उत्साहले पार्टीभित्र उनको प्रभाव र स्वीकार्यता अझै बलियो रहेको सन्देश दिएको उनको भनाइ थियो।
प्रकाशित: २९ श्रावण २०८३ १५:४५ शुक्रबार