राजनीति

विश्वप्रकाशको आह्वानः लोकतन्त्र र देश उभ्याउने बेला हो, एकढिक्का होऔं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र र संविधान खतरामा परेका बेला गुट जोगाउन लाग्न नहुने बताएका छन्। बिहीबार सप्तरीमा पुगेका बेला कार्यकर्तालाई सम्बोधन गर्दैै महामन्त्री शर्माले यस्तो बताएका हुन्।  

‘लोकतन्त्र र संविधान नै खतरामा परेको बेला तपाईंले गुट जोगाउने होइन, विवेक जगाउने हो, त्यो विवेकको जगमा पार्टी, लोकतन्त्र र देशलाई उभ्याउने हो,’ महामन्त्री शर्माले भने, ‘दाइले, भाउजुले, काकाले, काकीले के भन्छन्–त्यो मेरो विचार नभन्नोस्।’ घरकै नानीबाबुको अनुहार हेरेर उनीहरूले खोजेको परिवर्तन सम्भव तुल्याउन लाग्न उनले आग्रह गरे।  

जेन–जी प्रदर्शनले सामाजिक सञ्जाल खोल्नुपर्ने, भ्रस्टाचार नियन्त्रण गर्नुपर्ने र सुशासन स्थापना गर्नुपर्ने तीन माग सारेको उल्लेख गर्दै महामन्त्री शर्माले पहिलो माग सम्बोधन भइसकेको र थप दुई माग सम्बोधन गर्न समग्र राज्यप्रशासन र दलहरू गम्भीर एवं एक ढिक्का हुनुपर्ने बताए।  

पार्टीको अबको रणनीति बारे पार्टीभित्र दुई खाले मत हुनु स्वभाविक भएको बताउँदै उनले अगाडि भने, ‘हामी दुवै महामन्त्रीको प्रयास अत्यन्तै संयम र एकतासाथ आजको अवस्थाबाट एकढिक्का समाधानतर्फ लग्नमा रहनेछ।’  

प्रकाशित: ९ आश्विन २०८२ १५:१६ बिहीबार