राजनीति

चुनदेवी नेमप्लेटबारे बोले विश्वप्रकाश, भने- राजनीतिमा पनि विधि चाहिन्छ, बाँकी जिम्मा अदालतकै

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनदेवीको नेमप्लेट प्रकरणबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन्।

विशेष महाधिवेशनबाट जोडिएर आएको विषय भएकाले यसको निरूपण कानुनी प्रक्रिया र अदालतमार्फत नै हुने उनको भनाइ छ।

दोस्रो झापा-१ काठमाडौं कप फुटसल प्रतियोगिताका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति शर्माले खेलकुदमा जस्तै राजनीतिमा पनि नियम र पद्धति महत्त्वपूर्ण हुने बताए।

‘खेलमा विधि र नियम भएजस्तै राजनीतिक दलभित्र पनि विधि र प्रक्रिया हुन्छ, त्यसको पालना सबैले गर्नुपर्छ,’ शर्माले सुनाए।

नेमप्लेट विवादबारे राखिएको प्रश्नमा उनले भने, ‘यस विषयमा मैले थप केही भन्नु छैन, सबै जिम्मा अदालतकै हो।’ अदालतमा विचाराधीन मुद्दामा बाहिरबाट टिप्पणी गर्नु उपयुक्त नहुने धारणा उनले राखे।

प्रतियोगिताको सन्दर्भमा बोल्दै शर्माले गत वर्षदेखि सुरु गरिएको यस खेलकुद कार्यक्रमले आपसमा भ्रातृत्व, एकता र सामाजिक सद्भाव कायम गर्न ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

प्रकाशित: ३० श्रावण २०८३ १४:२३ शनिबार