नेकपा एमालेका नेता विष्णु रिजालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनालाई इतिहासको पुरानो घटनासँग जोडेर टिप्पणी गरेका छन्।
रिजालले सामाजिक सञ्जालमार्फत सन् १८५१ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्किएपछि आफ्ना भाइ बद्रीनरसिंह राणालाई आफूविरुद्ध षड्यन्त्र गरेको आरोपमा पक्राउ गरी थुनिएको प्रसंग उल्लेख गरेका छन्।
उनले करिब १७५ वर्षपछि सन् २०२६ मा प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका भ्रमणबाट फर्किएलगत्तै पूर्वप्रधानन्यायाधीश जबरालाई ‘आफ्नो सत्ता ढाल्न लागेको’ भन्दै नियन्त्रणमा लिइएको दाबी गरेका छन्।
आइतबार जबरालाई प्रहरीले मध्यराति निवासबाट नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडेको थियो। प्रहरीले भने उनलाई सुरक्षा जोखिमका कारण सुरक्षित स्थानमा लगिएको बताएको थियो।
रिजालले लेखेका छन्, ‘धन्न बालेन्द्र शाहले लामो समय थुनेनन्, १२ घण्टामै छाडिदिए।’
उनले ऐतिहासिक घटनासँग अहिलेको घटनाको तुलना गर्दै त्यसबेला जंगबहादुरलाई उनका भाइ बमबहादुरले पोल लगाएको उल्लेख गरे। अहिले जबराविरुद्ध कसले सूचना दिएको हो भन्ने प्रश्नसमेत उनले उठाएका छन्।
‘त्यतिबेला त जंगबहादुरलाई उनकै भाइ बमबहादुरले पोल लगाएका थिए। अहिले कसले लगाएछ कुन्नि? जो भए पनि पोल लगाउने चाहिँ कमजोर परेछ,’ रिजालको टिप्पणी छ।
प्रकाशित: १२ आश्विन २०८३ ०८:२० सोमबार