राजनीति

विप्लव नेतृत्वको नेकपाले दियो दल दर्ताको निवेदन, ‘जेन-जी’ का मुद्दा बोकेर चुनावमा जाने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘कम्युनिस्ट पार्टी नेपाल’ नामक नयाँ दल दर्ता गर्दै औपचारिक रूपमा संसदीय राजनीतिमा प्रवेश गरेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने उद्देश्यसहित मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको हो। पार्टीले हालैको ‘जेन-जी’ आन्दोलनले उठाएका मुद्दाहरूलाई आफ्नो मुख्य एजेन्डा बनाउने घोषणा गरेको छ।

सोमबार दिउँसो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन्।

निवेदन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता प्रकाण्डले जेन-जीले अहिले उठाएका मुद्दाहरू आफ्नो पार्टीले विगतमा नै उठाइसकेको बताए।

उनले भने, ‘नेपालको राजनीति र परिस्थितिले देश र जनताको जीवनस्तरलाई गहिरो प्रभाव पारेको छ। यही कारणले नेपालको कम्युनिस्ट आन्दोलन र विचारलाई एक ठाउँमा ल्याउन तथा ऐतिहासिक आवश्यकता पूरा गर्न यो दल दर्ता गरिएको हो।’

जेन-जी आन्दोलनपछि पुरानो व्यवस्था टिक्न सक्ने कुनै आधार नरहेको बताउँदै नेता प्रकाण्डले जनताले आफैँ फैसला लिन पाउने अधिकारलाई प्राथमिकतामा राखिने बताए।

उनले राज्यको रुपान्तरण गर्न र चुनावी प्रक्रियालाई नयाँ दृष्टि दिन आफूहरू लागिपरेको जिकिर गर्दै राजनीतिक प्रक्रियामा आमूल परिवर्तन आवश्यक रहेको सुनाए।

अहिले सरकारको अगाडि ठूला चुनौतीहरू रहेको भन्दै जनतालाई विश्वास दिलाउनका लागि नयाँ वस्तुस्थिति र कार्यशैली अपनाउनु पर्ने उनको भनाइ छ।

प्रकाशित: ११ कार्तिक २०८२ १४:४० मंगलबार