कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ पेस भएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख अम्बरबहादुर विष्टले अनुमति स्वीकृत भएको घोषणा गरेपछि विधेयक सदनमा पेस भएको हो।
प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विशेष समयमा नवनियुक्त मन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । उनले सरकार पटकपटक परिवर्तन हुँदा जनतामा नैराश्यता आएको बताउँदै प्रतिपक्ष भनेको विरोध गर्ने मात्र नभई असल काममा सहयोग गर्ने पनि भएको बताए।
पछिल्लो गठबन्धनका कारण नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै प्रमुख प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई सहयोग गर्ने बताए।
थापाले अहिले जनता ग्यास अभाव र महँगीको मारमा रहेकाले तत्काल प्रदेशवासीलाई राहत हुने किसिमका काम गर्न सरकारलाई सुझाव दिए । आर्थिक वर्ष २०८३।८४ को सार्वजनिक भएको बजेटलाई सन्तुलित बनाउनुपर्ने भन्दै सरकारलाई प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढ्न गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमराज थाम्सुहाङले जनताको अभिभावक सरकारले जनताकै हितमा काम गर्नुपर्ने बताए। प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ बजे बस्नेछ।
प्रकाशित: ३ भाद्र २०८३ १६:५५ बुधबार