राजनीति

नेपालको विशेष सेवा ऐनको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

प्रतिनिधि सभाको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई सर्वसम्मतिले पारित गरेको छ।

सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकलाई सदनको बैठकमा निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गरे।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको हो।

बैठकमा प्रधानमन्त्री  शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले उक्त विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

मन्त्री गौतमले अनुसन्धान गर्ने निकाय कुनै एकै स्थानमा मात्र विषय नभई सबै खालका सूचना प्रधानमन्त्रीसमक्ष पुग्दा राम्रो हुने र प्रधानमन्त्री स्वयंले देशको समग्र सुरक्षाको चासो राख्नुपर्ने भएकाले यस्ता विषय प्रधानमन्त्री कार्यालयअन्तर्गत रहने गरी बनाउनुपर्ने सरकारको धारणा रहेको बताएकी थिइन्।

उनले अर्थ मन्त्रालय, गृह मन्त्रालय मात्रै नभएर सबै खालको अनुसन्धान गुप्तचर निकायले गर्नुपर्ने भएकाले यो विधेयकले प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय अनुसन्धान व्युरोलाई राख्न खोजिएको बताइन्।

यसअघि, छलफलमा सांसदहरु सृष्टि भट्टराई, ललिताकुमारी, गणेशबहादुर विश्वकर्मा, दीपककुमार शाह, शाहजान खातुन, यशोधाकुमारी बराल, साजिदा खातुन सिद्धिकीले भाग लिँदै आफ्नो धारणा, जिज्ञसा तथा सुझाव राखेका थिए।

प्रतिनिधि सभाको अर्को बैठक साउन २६ गते मंगलबार १ बजे बस्नेछ।

प्रकाशित: २५ श्रावण २०८३ १७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App