राजनीति

बाढीपछि उद्धारमा ‘ठूलो खाडल’ देखियो : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवामा आएको बाढीपछि उद्धार तथा राहतमा सरकारी संयन्त्रबीच समन्वयको अभाव देखिएको बताएका छन्। 

पोखरेलले नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकलाई बेसक्याम्प बनाएर सेनाको कमाण्डमा हवाई उद्धार भइरहेको विषय सकारात्मक भए पनि जमिनको यथार्थ अवस्था र सरकारी संयन्त्रबीच ठूलो खाडल देखिएको बताएका हुन्। 

उनले सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य हुन नसकेको तथा गृह मन्त्रालय र जिल्ला प्रशासनले राहत तथा उद्धारको प्रभावकारी कमाण्ड सम्हाल्न नसकेको दाबी गरेका छन्। स्थानीय प्रशासन र जनप्रतिनिधिको नेपाली सेनासँग सहज पहुँचसमेत स्थापित हुन नसकेको उनको भनाइ छ। 

पोखरेलका अनुसार त्रिशूली पारिको क्षेत्रमा पुग्ने मुख्य ‘लाइफलाइन’ पूर्णरूपमा विच्छेद हुँदा ती क्षेत्रमा स्वयंसेवक र राहत सामग्री पुर्‍याउन कठिनाइ भएको छ। अलपत्र तथा विस्थापितको संख्या ठूलो भएकाले तत्काल सबै क्षेत्रमा हवाई उद्धार गर्न सम्भव नरहेको र हेलिकप्टरको सीमितता तथा प्रतिकूल मौसमले समस्या थप गम्भीर बनाएको उनले बताएका छन्। 

बिजुली र सञ्चार सेवा अवरुद्ध हुँदा सूचना आदानप्रदानसमेत प्रभावित भएको भन्दै पोखरेलले स्थलमार्गबाट उद्धार तथा राहत पुर्‍याउने भरपर्दो योजना तत्काल आवश्यक रहेको बताएका छन्। उनले सरकारले वैकल्पिक योजनासहित उद्धार तथा राहतलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन्। त्यसका लागि तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई समेटेर तत्काल एकीकृत कमाण्ड पोस्ट निर्माण गर्नुपर्ने उनको सुझाव छ। 

त्यस्तै, मुख्य सडक सञ्जाल पुनः सञ्चालन नभएसम्म तुइन, फलामे डोरी तथा अस्थायी पुलजस्ता वैकल्पिक माध्यमबाट जोखिममा रहेका क्षेत्रमा खानेपानी, औषधि र खाद्यान्न पुर्‍याउनुपर्ने उनले बताएका छन्। 

स्थलमार्ग खुलाउन निजी क्षेत्रका ठूला हेभी इक्विपमेन्टसमेत परिचालन गरी युद्धस्तरमा काम गर्न र नदी तथा ठूला खोलामा बेलिब्रिज जडान गर्नुपर्ने उनको भनाइ छ। डुबान क्षेत्रका भग्नावशेष तथा दलदलमा दबिएका शवको खोजीलाई तीव्र बनाउन थप जनशक्ति र आधुनिक उपकरण परिचालन गर्नुपर्ने पनि उनले बताएका छन्।

प्रकाशित: १२ भाद्र २०८३ १५:०१ शुक्रबार