नेकपा (माओवादी केन्द्र) का नेता तथा अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि शब्द प्रहार गरेका छन्।
राजधानीको संवाद डबलीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेमाथि सहकारीको एक अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप लगाए।
बिडारीले यस्ता व्यक्तिलाई कारबाही नगरे र फेरी पदमा रहन दिए थप वित्तीय अराजकता निम्ति सक्ने समेत बताए। सहकारीमा सर्वसाधारणले दुःखले कमाएर जम्मा गरेको रकम लामिछानेले व्यक्तिगत लाभका लागि प्रयोग गरेको उनको आरोप थियो।
आयोजितकार्यक्रममा बोल्दै बिडारीले आक्रामक शैलीमा भने, ‘एक अर्ब ५४ करोड रुपैयाँ सहकारीको पैसा घप्लक्क रविले लगेछ। त्यो पैसा मकै पोलेर, दिनको २० रुपैयाँ जम्मा गर्ने दिदीबहिनीको हो। अनि त्यस्तै व्यक्तिलाई हाम्रो नेता भनेर समर्थन गर्ने ?’
उनले सहकारी पीडितको पैसा फिर्ता गर्न लामिछानेले आफ्नो र परिवारको सम्पत्ति बेच्नुपर्ने माग गरे। ‘त्यससँग पैसा ले, घर बेच, श्रीमतीले चढेको गाडी बेच, त्यो पैसा तुरुन्त फिर्ता गर भन्नुपर्थ्यो नि,’ उनले आक्रोशित हुँदै भने।
वरिष्ठ अधिवक्ता बिडारीले लामिछाने फेरी गृहमन्त्रीको पदमा रहे शक्तिको दुरुपयोग गर्न सक्ने खतरा औंल्याए। उनले भने, ‘अहिले ५ वटा सहकारी ठगेको छ, अब फेरि गृहमन्त्री भएपछि २० वटा ठग्छ। अनि तपाईंहरू आन्दोलन गर्न जानुभयो भने लगेर थुन्दिन्छ।’
उनले सहकारी ठगीजस्तो विषयमा जनता विभाजित हुन नहुने बताउँदै गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्नेमा जोड दिए।
‘एकातिर सहकारीले ठग्यो भनेर रुने, अर्कोतिर त्यही ठगीमा मुछिएकालाई ‘काइँदा हो’ भनेर भोट हाल्ने दोहोरो चरित्रले न्याय मर्दछ,’ उनले सुनाए, ‘चोरलाई चोर र असललाई असल भन्न सक्नुपर्छ।’
प्रकाशित: १७ भाद्र २०८२ १९:२३ मंगलबार



