राजनीति

भुसाल भन्छन्- प्रधानमन्त्रीको हातबाट जुस खान अनशन बसेको होइन, व्यवस्था बदल्न हो

विभिन्न ९ बुँदे माग राख्दै माइतीघर मण्डलामा आमरण अनशन बसिरहेका डा. कमल (निकोलस) भुसालले आफू कसैको राजीनामा माग्न वा चर्चा कमाउन नभई देशको अवस्था बदल्न सडकमा आएको बताएका छन्।

शनिबार अनशनको पाँचौं दिन सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

देशमा सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र राजनीतिक प्रणाली सुधार गर्नका लागि आफू ‘वार कि पार’ को लडाइँमा उत्रिएको उनको भनाइ छ।

सञ्चारकर्मीले सरकारबाट सुनुवाइ नभएको र कोही भेट्न नआएको भन्ने प्रश्नमा डा. भुसालले आफू कसैले भेट्दैमा वा नभेट्दैमा विचलित नहुने बताए।

उनले भने, ‘हामी यहाँ प्रधानमन्त्री वा गृहमन्त्रीको राजीनामा माग्न आएका होइनौं, उनीहरू हटेर अर्को आउँदैमा देश बन्दैन। बालकोटबाट बालुवाटार र बालुवाटारबाट बुढानीलकण्ठ धाउने पुरानो रितले देश बन्दैन। हामीले प्रधानमन्त्री वा गृहमन्त्रीको हातबाट जुस खान अनशन बसेको होइन, माग संस्थागत हुनुपर्‍यो।’

उनले आफूहरूले जनतालाई बुझाउन र जेन-जी पुस्तालाई सचेत गराउन यो अभियान थालेको बताए।

अनशनरत डा. भुसालले संविधानमा संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने, खर्चिला प्रदेश सभाहरू खारेज हुनुपर्ने र विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन्।

उनले भने, ‘हाम्रो आन्दोलन देशमा शिक्षा र स्वास्थ्य निःशुल्क होस्, सहकारी र लघुवित्त पीडितले न्याय पाउन्, कालोसूचीमा परेका ६ लाखभन्दा बढी व्यवसायीको समस्या समाधान होस् र देशमै रोजगारी सिर्जना होस् भन्ने हो।’

उनले ५० डिग्रीको तातोमा युवाहरू विदेशिन बाध्य हुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए।

अनशनमा जनसमर्थन नभएको भन्ने प्रश्नको खण्डन गर्दै डा. भुसालले अहिलेसम्म १० हजारभन्दा बढी सर्वसाधारण, सहिद परिवार, घाइते, डाक्टर, इन्जिनियर र वकिलहरूले समर्थन जनाइसकेको दाबी गरे।

‘मलाई पत्याउनु पर्दैन, मेरो लागि केही गरिदिनु पर्दैन। मेरा लागि लडिदिन वा बोलिदिन पनि पर्दैन। तर यी मागहरू देशका हुन्, यी माग पूरा नभएसम्म म यहाँबाट उठ्दिनँ।’

उनले गृह मन्त्रालयबाट सम्पर्क भएको सङ्केत गर्दै माग पूरा नभएसम्म सम्झौता नगर्ने अडान दोहोर्‍याए।

प्रकाशित: १२ पुस २०८२ १७:३९ शनिबार