राजनीति

भावना राउतको प्रश्न : बालेन झुट बोल्दै छन् कि प्रहरी ?

जेनजी अभियन्ता भावना राउतले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेन शाह र प्रहरीका भनाइ बाझिएको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेकी छन्। 

राउतले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्यालय र प्रहरीका फरक–फरक भनाइले राज्यका जिम्मेवार निकायको विश्वसनीयतामाथि प्रश्न उठाएको बताएकी हुन्। उनले प्रधानमन्त्री कार्यालयको चासोपछि पत्रकारहरूलाई बोलाइएको प्रहरीको भनाइ र आफूलाई यसबारे केही थाहा नभएको प्रधानमन्त्री कार्यालयको दाबीबीच विरोधाभास देखिएको उल्लेख गरेकी छन्। 

‘बालेन झुट बोल्दै छन् कि प्रहरी ? जनतालाई थाहा चाहियो,’ राउतले प्रश्न गरेकी छन्। 

उनका अनुसार प्रहरी स्रोतबाटै गृह मन्त्रालय र प्रधानमन्त्री सचिवालयसँगको छलफलपछि धरपकड भएको भन्ने विवरण बाहिर आएको छ। तर प्रधानमन्त्री कार्यालयले यसबारे जानकारी नभएको बताएको अवस्थामा वास्तविकता के हो भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ।  

राउतले घटनामा कसैले झुट बोलेको भए पनि त्यसको क्षति जनताले नै व्यहोर्नुपर्ने टिप्पणी गरेकी छन् । प्रधानमन्त्री कार्यालयको विश्वसनीयतामाथि प्रश्न उठ्नु वा प्रहरी संस्थाको साख गिर्नु दुवै लोकतन्त्रका लागि घातक हुने उनको भनाइ छ। 

‘राज्यका दुई जिम्मेवार निकायका भनाइ बाझिँदा नागरिकले कसलाई पत्याउनेरु’ उनले प्रश्न गरेकी छन्। 

प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै राउतले जनताको भरोसा नै उनको सबैभन्दा ठूलो राजनीतिक पुँजी भएको हुँदा प्रधानमन्त्रीको नियतमाथि विश्वास गर्दै जनताले शंकाको सुविधा दिएको उनको भनाइ छ। तर यस्तो सुविधा सधैँ कायम नरहने उनले चेतावनी दिएकी छन्। 

राउतले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहोस् र प्रधानमन्त्रीले झुट नबोलेका होऊन् भन्ने आफ्नो चाहना रहेको बताएकी छन्। 

‘जनताले तपाईंलाई भरोसा गरेका हुन्, जवाफदेहिताबाट उन्मुक्ति दिएका होइनन्,’ उनले भनेकी छन्।  

प्रकाशित: १५ कार्तिक २०८३ १०:३९ आइतबार