राजनीति

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि भारत, चीन, बंगलादेशसहित विभिन्न देशका राजनीतिक दल तथा अन्तर्राष्ट्रिय संस्थाले सभापति गगनकुमार थापालाई शुभकामना पठाएका छन्।

भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले कांग्रेस सभापति गगन थापालाई शुभकामना दिँदै महाधिवेशन सफलताको कामना गरेका छन्। उनले बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै भारत नेपालसँगै उभिएको र राहत तथा पुनःस्थापनाका काममा सहयोग जारी राख्ने बताएका छन्। उनले भाजपा र नेपाली कांग्रेसबिचको सम्बन्ध थप बलियो बनाउने प्रतिबद्धता पनि जनाएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पनि कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना दिएको छ। विभागले नेपाली कांग्रेसले नेपालको विकास र जनताको जीवनस्तर सुधारमा थप योगदान गर्ने विश्वास व्यक्त गर्दै दुई पार्टीबिचको सहकार्य र आदानप्रदानलाई निरन्तरता दिने बताएको छ।

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले पनि महाधिवेशनका लागि शुभकामना पठाएका छन्। व्यक्तिगत प्रतिबद्धताका कारण आफू उपस्थित हुन नसक्ने बताउँदै उनले आफ्नो प्रतिनिधिका रूपमा विवेक तन्खालाई पठाएको जानकारी दिएका छन्। तन्खाले महाधिवेशनको उद्घाटन सत्रमा भारतीय राष्ट्रिय कांग्रेसको प्रतिनिधित्व गर्नेछन्।

बंगलादेश नेसनल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री तारिक रहमानले पनि कांग्रेसको महाधिवेशन सफलताको कामना गरेका छन्। उनले बंगलादेश र नेपाली कांग्रेसबिचको पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप अघि बढाउने इच्छा व्यक्त गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिएका छन्।

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) का अध्यक्ष चुंग ई उङले पनि कांग्रेसलाई शुभकामना दिएका छन्। उनले हालैको बाढीबाट ज्यान गुमाएका र प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै जलवायु परिवर्तन र प्राकृतिक विपत्तिसँग जुध्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

उनले नेपाली कांग्रेसलाई आईक्यापको संस्थापक सदस्य तथा लामो समयदेखिको महत्त्वपूर्ण साझेदारका रूपमा उल्लेख गर्दै आगामी नोभेम्बरमा दक्षिण कोरियाको सियोलमा हुने आईक्यापको १३औँ महासभामा सहभागी हुन कांग्रेस नेतृत्वलाई निम्तो दिएका छन्। बेलायतको लेबर पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसहित अन्य केहीले पनि शुभकामना सन्देश पठाएका छन्। 

साथै, महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपालस्थित अमेरिकी, बेलायती, स्विस, चिनियाँ दूतावास तथा युरोपेली संघका प्रतिनिधिलगायत विदेशी नियोगका प्रतिनिधिलाई स्वागत गरिएको छ।

प्रकाशित: १८ आश्विन २०८३ १६:०१ आइतबार