राजनीति

पुरानो हुनु मूल्यहीन होइन, तर नयाँ सिक्न तयार हुनुपर्छ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजमा पुराना राजनीतिक दल र विचारलाई ‘थोत्रो’, ‘खराब’ र ‘मूल्यहीन’ भनेर चित्रण गर्ने सुनियोजित भाष्य निर्माण भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताएका छन्।

उनले नेपाली कांग्रेस आफ्नो गौरवपूर्ण इतिहासप्रति सधैँ गर्व गर्ने तर नयाँ पुस्ता र समयका विचारलाई सिक्न र ग्रहण गर्न पनि उत्तिकै तयार हुनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार आयोजित ‘पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरूलाई सम्मान पत्र वितरण’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो धारणा राखेका हुन्।

‘अहिले समाजमा पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो हुनु भनेको सबैभन्दा मूल्यहीन हो भन्ने ढंगबाट एक किसिमको नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ,’ महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस यसबाट बाहिर निस्केर आउनुपर्नेछ। हामीलाई पुरानो भएकोमा गौरव छ, हाम्रा आफ्ना धेरै परम्पराहरूमा गौरव छ।’

उनले देशमा भएका ठूला राजनीतिक परिवर्तनहरूमा नेपाली कांग्रेसको ऐतिहासिक योगदान रहेको स्मरण गराउँदै पार्टीले आफ्नो इतिहासको जगलाई बिर्सन नहुने बताए।

यद्यपि, इतिहासको जगमा मात्रै बसेर भविष्य नबन्नेतर्फ सचेत गराउँदै उनले पार्टीले निरन्तर आफूलाई नवीकरण गर्नुपर्ने बताए।

‘हामी सँगसँगै नयाँ जमानाको, नयाँ समाजका नयाँ कुराहरूलाई सिक्न पनि तयार छौँ, सुन्न पनि तयार छौँ, ग्रहण गर्न पनि तयार छौँ,’ उनले भने, ‘पुराना जुन राम्रा कुरा छन्, त्यसलाई जोगाउँछौँ र नयाँ कुरा थप्दै जान्छौँ। नयाँ ज्ञानको खोजी गर्छौं।’

महामन्त्री थापाले आजका समस्याको समाधान खोज्दा सात साल, ४६ साल र ६२ सालका आन्दोलनको चेत र इतिहासबाट सिक्नुपर्ने तर सँगसँगै आजकै युगको चेतनाका आधारमा त्यसलाई बुझेर भविष्यको बाटो देखाउने कांग्रेस बनाउनुपर्नेमा जोड दिए।

यसका लागि पार्टीभित्र थप छलफल, बहस र पठनपाठनको संस्कृति आवश्यक रहेको बताउँदै पुस्तकालय स्थापनाले त्यस कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ५ श्रावण २०८२ १९:३५ सोमबार