राजनीति

‘महाभोज’ हेरेपछि भावुक बने दाहाल, भने- ‘आजको पुस्ताले हेर्नैपर्ने चलचित्र’

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हालै प्रदर्शनरत राजनीतिक थ्रिलर चलचित्र ‘महाभोज’ को प्रशंसा गर्दै यसलाई आजको पुस्ताले हेर्नैपर्ने बताएका छन्।

चलचित्रको कथावस्तुलाई आफ्नै राजनीतिक यात्रा र सशस्त्र विद्रोहको पृष्ठभूमिमा जोड्दै उनले यसले सामन्तवादका अवशेषविरुद्ध जारी संघर्षको जीवन्त चित्रण गरेको टिप्पणी गरे।

“लामो समयपछि चलचित्र हेर्ने अवसर मिल्यो, ‘महाभोज’ निकै चाखलाग्दो, तथ्यपरक र सन्देशमूलक लाग्यो,” उनले भनेका छन्, “त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसका केही अवशेष अझै बाँकी छन्।”

आफ्नै राजनीतिक दर्शनसँग जोड्दै उनले थपे, “‘यही देशमै केही गर्नुपर्छ’ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादविरुद्ध लड्ने साहस राख्छन् र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश चलचित्रले दिएको छ।”

अध्यक्ष दाहालले चलचित्रको गहन सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गरेको भन्दै निर्देशक दिपेन्द्र राउत, निर्माता हिमाल केसी तथा सम्पूर्ण कलाकार र निर्माण टिमलाई विशेष धन्यवाद दिएका छन्।

प्रकाशित: ४ श्रावण २०८२ २०:४६ आइतबार