नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्ना मन्त्रीहरूको गतिविधि नियन्त्रण गर्न आग्रह गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले सरकारका मन्त्रीहरूको कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
पुनले देशभर विपद्का घटना भइरहँदा सम्बन्धित मन्त्रीहरूले प्रभावकारी ध्यान नदिएको तर सामान्य बिरामी हुँदा समेत सरकारी तथा नेपाली सेनाका हेलिकप्टर प्रयोग गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाए।
उनले गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा जानु स्वाभाविक भए पनि देशभर भइरहेका विपद्का घटनाबारे संसद्मा आएर जवाफ दिनुपर्ने बताए।
‘गृहमन्त्रीज्यू आफ्नो निर्वाचन क्षेत्रमा गइराख्नुभएको छ, राम्रो कुरा हो। जनप्रतिनिधि गृह जिल्ला जानु, क्षेत्रमा जानु स्वाभाविक हो । मतदाताहरूले आफ्नो विगतका प्रतिबद्धताको जवाफ खोज्छन्, तर उहाँले मत फिर्ता लानु भनिराख्नुभएको छ,’ पुनले भने।
उनले देशभर भइरहेका विपद्का घटनाबारे सरकारको धारणा र तयारीबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने भन्दै विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताए।
पुनले सरकारसँग जोडिएका दैनिक उपभोग तथा सार्वजनिक सेवाका समस्या र नागरिकले पछिल्लो समय पाएको सास्तीको बिषयमा सरकारको कार्यशैली उपयुक्त नभएको बताए।
‘नयाँ पार्टीको स्पिरिट थियो, विगत ३५ वर्षमा लाइन नै लाइन भनिन्थ्यो, आज त झन् थप लाइनहरू छन् । ग्यासमा पनि लाइन, खानेपानीमा पनि लाइन, मलमा पनि लाइन, पासपोर्टमा पनि लाइन । कतिवटा लाइन लाग्नुपर्ने हो जनताले रु नयाँ भनेको लाइन थप्ने हो ?’ उनले प्रश्न गरे।
प्रकाशित: २ भाद्र २०८३ १२:५३ मंगलबार