राजनीति

बालेन्द्र शाहले अहंको तुष्टि त्यागेर होसमा आउन जरुरी छ : मुमाराम खनाल

'विदेश मामिलामा परिपक्व निर्णय नगरे मुलुक दुर्घटनातर्फ जान्छ'

राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत अहंको तुष्टि त्यागेर वास्तविकता बुझ्दै कूटनीतिक विषयमा गम्भीर बन्न आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत खनालले यस्तो आग्रह गरेका हुन्। उनले भने, 'बालेन्द्र शाहले अहंको तुष्टि त्यागेर होसमा आउन जरुरी छ।'

यस्तै, भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित रूपमा अघि बढाउन नसक्दा नेपालको समग्र कूटनीतिक सम्बन्ध प्रभावित हुँदै गएको खनालले बताएका छन्।

उनले शीतयुद्धकालमा तुलनात्मक रूपमा ठीक रहेको नेपालको छिमेक नीतिको अन्तरसम्बन्धलाई समनिकटमा राखेर सन्तुलित बनाउन नसक्दा मुलुकको कूटनीतिक अवस्था कमजोर बन्दै गएको बताएका हुन्।

'राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन् सितयुद्धकालमा ठिकठाक रहेको नेपालको छिमेक नीति (भारत र चीनसँग)को अन्तरसम्बन्धलाई समनिकटमा राखेर सन्तुलित गर्न नसक्दा हाम्रो समग्र कुटनीतिक सम्बन्ध नै नराम्रोसँग प्रभावित हुँदै गएको छ,' सामाजिक सञ्जालमार्फत उनले भने।

खनालले विगतका राजनीतिक शक्तिहरूले भारत र चीनसँगको सम्बन्धलाई राष्ट्रिय हितभन्दा व्यक्तिगत, दलीय र राजनीतिक स्वार्थबाट हेर्दा सम्बन्ध बिग्रिएको बताउँदै अहिलेका कथित नयाँ शक्तिहरूले पनि क्षमतारहित मुर्खता, महाशक्ति राष्ट्रको अन्धभक्ति र कूटनीतिक अज्ञानताका कारण मुलुकलाई बर्बादीतर्फ धकेलिरहेको आरोप लगाए।

'हिजोका पुराना शक्तिहरूले उक्त सम्बन्धलाई मुलुकको हितभन्दा आफ्नो व्यक्तिगत हित, दलीय र राजनीतिक स्वार्थबाट मात्र हेरे र बर्बाद पारे। आजका कथित नयाँ शक्तिहरूले क्षमतारहित मुर्खता, महाशक्ति राष्ट्रको अन्धभक्ति र कुटनीतिक अज्ञानताले मुलुकलाई बर्बादीतिर धकेल्दैछन्,' खनालले भनेका छन्।

उनले कम्तीमा वैदेशिक मामिलाका विषयमा सबै राजनीतिक शक्ति एक ठाउँमा आएर परिपक्व निर्णय लिनुपर्नेमा जोड दिएका छन्। त्यस्तो साझा र परिपक्व निर्णय हुन नसके मुलुक गम्भीर दुर्घटनातर्फ जाने उनको चेतावनी छ।

उनले भने, 'वैदेशिक मामिलामा एक्लै निर्णय गर्न सक्ने ल्याकत कसैको हुन्न। कमसेकम वैदेशिक मामिलामा सबै राजनीतिक शक्तिहरू एक ठाउँमा आएर परिपक्व निर्णय नगर्ने हो भने मुलुकको दुर्घटना सन्निकट छ।'

प्रकाशित: ३० भाद्र २०८३ १०:२० मंगलबार