राजनीति

ओली-लेखकलाई पक्राउ गरेर बालेन्द्र सरकारले ‘साहसिक कदम’ चाल्यो : प्राध्यापक एसडी मुनि

नेपाल-भारत सम्बन्धका जानकार एवं पूर्व कूटनीतिज्ञ प्राध्यापक एसडी मुनिले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा बालेन्द्र सरकारले चालेको कदमको प्रशंसा गरेका छन्।

दक्षिण एसियाली मामिलाका विशेषज्ञ मानिने मुनिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि यसलाई सरकारको साहसिक निर्णयका रूपमा टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा राख्दै मुनिले भनेका छन्, ‘बालेन्द्र सरकारले ओली र लेखकलाई पक्राउ गरेर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न साहसिक कदम चालेको छ। आशा छ कि जेनजी विद्रोहको दुई दिनको समयमा गृहमन्त्री सुदन गुरुङले सुरक्षा अधिकारीहरूसँग गरेको कुराकानीलाई बाहिर ल्याउन पनि उही साहस र दक्षता प्रयोग गरिनेछ।’

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा आज बिहान एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो।

प्रकाशित: १४ चैत्र २०८२ १५:३० शनिबार