राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद जगदीश खरेलले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन्।
बिहीबार पार्टीको संसदीय दलको बैठकले शाहलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद खरेलले राष्ट्रपतिबाट भोलि नै शाहलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराइने जानकारी दिए।
‘बालेन शाह प्रधानमन्त्री बन्ने कुरा पक्का भयो, निश्चित भयो,’ खरेलले भने, ‘उहाँ संसदीय दलको नेता चयन भइसकेपछि अब नेपालको भोलि राष्ट्रपतिज्यूले उहाँलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ।’
बिहीबार सम्पन्न संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई दलको नेता बनाउन प्रस्ताव गरेका थिए। सो प्रस्तावलाई दलको बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
प्रकाशित: १२ चैत्र २०८२ १८:०४ बिहीबार



