राजनीति

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ डेन्टिङ पेन्टिङ गरिएको ‘नयाँवाद’ : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले ल्याएको ‘राष्ट्रिय प्रतिबद्धता’ लाई ‘नयाँवाद’ को संज्ञा दिएका छन्। बुधबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले यसलाई डेन्टिङ पेन्टिङ गरेर ल्याइएको ‘नयाँवाद जिन्दाबाद’ भन्दै व्यङ्ग्य गरेका हुन्। 

सरकारले मंगलबार १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा पत्र सार्वजनिक गरेको थियो। उक्त मस्यौदामा संसद्का छ ठुला दलहरू रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चुनावी वाचाहरू समेटिएका छन्।

छ वटै दलका घोषणा पत्रलाई मिसाएर प्रधानमन्त्री बालेन्द्र शाहले एक्लै जस लिन खोजेको बास्कोटाको जिकिर छ। उनले लेखेका छन्, ‘बालेन प्रतिबद्धता पढियो। छ दलकै घोषणा पत्र समेट्ने र जस अपजस एकै डालोमा हालिदिने। समाजवादी, पुँजीवादी, नवउदारवादी हिसाब किताब नै खतम।’

हेर्नुस् उनको एक्स पोस्ट
‘शुभ बिहान सबैमा। बालेन प्रतिबद्धता पढियो। विषद विश्लेषण, संश्लेषण विद्वत वर्गले अनेक कोणबाट गर्लान् नै। मन परेको कलात्मक कुरो चैँ छ दलकै घोषणा पत्र समेट्ने र जस अपजस एकै डालोमा हालिदिने। समाजवादी,पुँजीवादी,नवउदारवादी हिसाब किताब नै खतम। रिसानी माफ होस- डेन्टिङ पेन्टिङ नयाँवाद जिन्दाबाद।’

प्रकाशित: २ वैशाख २०८३ ०८:५७ बुधबार