राजनीति

मधेस आन्दोलनका सहिदप्रति बालेनको सम्मान

लहानको मधेसी सहिद प्रतिमामा बालेनले गरे माल्यार्पण

जनकपुरधामको तिरहुतियागाछिमा आज आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न आएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह 'बालेन' लहानस्थित मधेसी सहिदको प्रतिमामा माल्यार्पण गरेका छन्। बिहानै मधेसी सहिद प्रतिमामा माल्यार्पण गरी उनले मधेसप्रतिको मोह र सम्मान प्रदर्शन गरेको छ।

माल्यार्पण गर्दै उनले सहिदहरूप्रति शिर झुकाएर सम्मान व्यक्त गरेका थिए। उनले केही नबोले पनि मधेसप्रतिको सम्मान भाव व्यक्त गरेर गएको स्थानीयहरू बताउँछन्।

बालेन हेर्न जम्मा भएको भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो। बालेनसंगै अमरेश सिंह पनि सहिद प्रतिमामा माल्यार्पण गर्न लहान आएका थिए।

२०६३ सालमा भएको विभेद विरुद्ध पहिलो मधेस आन्दोलनमा माघ ५ गते रमेश महतो पहिलो सहिद भएका थिए। त्यसपछि चर्किएको आन्दोलनमा माघ ६ गते थप चार जना सहिद भएका थिए। पहिलो मधेस आन्दोलनको पाँचै जना सहिदको लहानमा प्रतिमा बनाइएको छ। हरेक माघ ५ गते मधेस बलिदानी दिवस मनाउँदै सहिदलाई सम्झिने गरिएको छ।

विहान जानकी मन्दिरमा दर्शन गरेर बालेन टोली सिधै लहान पुगेको थियो। आज दिउँसो १ बजे जनकपुरधाममा उनले उद्घोष सभालाई सम्बोधन गर्दै छन्।

प्रकाशित: ५ माघ २०८२ ०८:५८ सोमबार