राजनीति

अलमलमा बालेन: नयाँ दल खोल्ने कि रास्वपामा जोडिने?

जेन-जी आन्दोलनपछि वैकल्पिक शक्तिका रूपमा उदाउन नयाँ पार्टी खोल्ने कि पुरानासँगै मिलेर जाने भन्नेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह अलमलमा परेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गर्ने वा सुमना श्रेष्ठलगायतले बनाउने नयाँ पार्टीलाई समर्थन गर्ने भनेर उनी अलमलमा परेका हुन्। रास्वपाले रवि लामिछानेलाई सभापतिबाट हटाएर नयाँ व्यक्ति ल्याए समर्थन गर्ने संकेत गरेका बालेनले उता सुमना श्रेष्ठ, निश्चन बस्नेतलगायतले खोल्न लागेको नयाँ पार्टीलाई पनि ढाडस दिइरहेका छन्।

मूलधारको पार्टीका रूपमा विकास भएको भन्दै रास्वपाले नयाँ व्यक्तिलाई पार्टी सभापति बनाउन नचाहेपछि बालेनको ध्यान सुमना श्रेष्ठले नेतृत्व गर्ने पार्टीमा पुगेको छ। श्रेष्ठले पनि कस्तो पार्टी बनाउने भन्ने खुलेको छैन। रास्वपाका सभापति लामिछानेले बालेन आफैं नेतृत्व गर्ने गरी आए सभापति छाडिदिने नत्र बाहिरबाट कोही व्यक्तिलाई नल्याउने बताएको जनाइएको छ। त्यसपछि बालेन र रास्वपाबिचको संवाद स्थगित भएको थियो।

यतिबेला नयाँ पार्टी गठनका लागि बालेन अर्का स्वतन्त्र मेयर गोपी हमाल, जेनजीको प्रतिनिधि बताउने सुदन गुरुङ लगायत छलफलमा रहेका छन्। हर्क साम्पाङले कापठमाडौं आएर पार्टी खोलेर गएपछि स्वतन्त्र नेताहरू भने नयाँ दलको तयारीमा लागेका हुन्।

मिराज ढुंगानालगायतको अर्को समूहले पार्टी दर्ता गर्ने भनिसकेको छ। यद्यपि उनीहरूको पार्टी कस्तो हुने भन्ने टुंगो लागेको छैन। बालेन समूहका नेताहरूले ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपाको सभापति बनाउन चाहेका थिए तर रास्वपाले यो प्रस्तावलाई अस्वीकार गरेको थियो।

रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बृहत्तर राजनीतिक संवादहरू भइरहेको बताए। उनले कसलाई कुन पदमा राख्ने वा नराख्नेभन्दा पनि जेनजी आन्दोलनलाई कसरी संस्थागत गर्न सकिन्छ भनेर सबैसँग कुराकानी भइरहेको बताए। उनका अनुसार यसका लागि उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा उच्चस्तरीय संवाद समिति पनि बनाइएको छ।

संवादका लागि केही जिम्मेवारी पुकार बमलाई पनि दिइएको छ। सबै खालका सम्भाव्यताबारे छलफल भइरहेको बुर्लाकोटीको दाबी छ। ‘जेनजी आन्दोलनलाई संस्थागत गर्न नयाँ शक्ति र व्यक्तिहरुसँगको कुराकानी स्वाभाविक हो।

पार्टी निर्माणका आफ्नै चरणहरू हुन्छन्। धेरै चरण पार गरेर रास्वपा अहिलेको अवस्थामा आइपुगेको छ। पार्टीमा व्यक्तिहरू आउने–ल्याउने क्रम पनि निरन्तर रहन्छ तर कसलाई के जिम्मेवारी भन्ने विषय छलफलबाट टुंगिन्छ। अहिले सतहमा आएजस्तै सभापति दिने गरी वा त्यही पदका लागि भनेर कोहीकसैसँग छलफल भएको छैन,’ सहमहामन्त्री बुर्लाकोटीले भने।

रविले पार्टी सभापति छाड्नु हुँदैन भन्ने लाइनमा रहेका रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले पनि सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गरेका थिए। यसबाट पनि बालेनले रास्वपामा नयाँ व्यक्तिलाई लगेर आफूले समर्थन गर्न खोजेका थिए भन्ने पुष्टि हुन्छ।

केही युवा भने बालेनले पार्टी नखोल्न भएपछि सुमना र निश्चललाई पार्टी खोल्न दबाब दिइरहेका छन्। बालेनले पनि देशभरका सबै युवालाई समेटेर पार्टी खोल्ने हो भने आफ्नो पनि समर्थन रहने संकेत दिएका छन्। बालेनको यो संकेतपछि सुमनाले यसको गृहकार्य गरिरहेकी छन्। ‘बनिबनाउ पार्टी भएकाले रवि लामिछानले सभापति छाडे बालेनले समर्थन गर्ने संकेत गरेका थिए तर रास्वपाले मानेन त्यसकारण अहिलेलाई त्यताको वार्ता स्थगित भएको छ,’ बालेननिकट एक युवाले भने।

बालेनले समर्थन गर्ने दलमा सन्तोष गिरीलाई संगठन प्रमुख रहने गरी पठाइन लागेको पनि ती युवाको दाबी छ। बालेनको समर्थनमा खुल्न लागेको नयाँ दलमा हालका जेनजी प्रतिनिधि, पुराना विवेकशील साझामा रहेकाहरू, कांग्रेस-एमाले छाडेकाहरू, आन्दोलनको अग्रमोर्चामा देखिएका कलाकारहरू समेटिन लागेको स्रोतको दाबी छ। ‘बालेन आफैं अघि बढेर पार्टी खोल्ने अवस्था छैन। उहाँले नयाँ दललाई समर्थन गर्ने हो,’ नयाँ पार्टीको तयारीमा लागेका एक युवाले भने।

प्रकाशित: १२ कार्तिक २०८२ ०८:२९ बुधबार