नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको बुद्धिमा ग्रहण लागेका कारण बालेन शाह प्रधानमन्त्री बनेको बताएका छन्।
वर्तमान सरकारबाट देश अघि बढ्न नसक्ने दाबी गर्दै उनले यस्तो अवस्था आउनु देशकै लागि दुर्भाग्यपूर्ण भएको बताए। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।
ओलीले भने, ‘कस्तो सरकार छ, यस्तो सरकारबाट देश चल्नेवाला छैन। यो देशलाई नै ग्रहण लागेको हो। नेपाली जनताको बुद्धिमा ग्रहण लागेर यस्तो सरकार बनेको हो। नत्र यस्तोलाई कसैले बनाउँछ ? तर भयो, अब यसलाई सच्याउन हामी सबै एकजुट हुनुपर्छ।’
अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले अघि बढाएका विकास निर्माणका योजनाहरूको जस प्रधानमन्त्री बालेनको सरकारले लिन खोजेको आरोपसमेत लगाए। झापाबाट आउने पूर्व-पश्चिम राजमार्ग तथा विभिन्न पुलहरूलाई देखाएर वर्तमान सरकारले आफ्नो उपलब्धि भनी प्रचार गरेको भन्दै उनले आपत्ति जनाए।
‘अहिलेको सरकार आउनेबित्तिकै बाटो र पुल बनेको भनेर प्रचार गरिँदै छ, बेइमानीको पनि हद हुन्छ,’ ओलीले भने, ‘हामीले बनाएका नीतिभन्दा पृथक् कसैले नीति बनाउन सकेको छैन, काम हामीले गर्ने अनि जस अरूले लिने ?’
एमाले सधैँ सामाजिक न्याय, समानता तथा आदिवासी, जनजाति, दलित, महिला र सीमान्तकृत समुदायको अधिकारका पक्षमा रहेको उल्लेख गर्दै उनले देशलाई सही दिशामा अघि बढाउन एमालेको नीति आवश्यक रहेको बताए।
प्रकाशित: ३१ श्रावण २०८३ १६:०४ आइतबार



