राजनीति

‘बालेनले रविलाई पनि थुन्न सक्छन्’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक शक्ति संघर्ष र कलहको उत्कर्षमा पुगेको टिप्पणी गरेका छन्।

नेकपाको राष्ट्रिय जागरण अभियानअन्तर्गत दैलेखमा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै पुनले रास्वपाभित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच शक्ति संघर्ष चलिरहेको दाबी गरे। उनीहरूबीच राज्यका निकायलाई आफ्नो प्रभावमा पार्ने होडबाजीका कारण सरकारी संयन्त्र विभाजित र कमजोर बनेको उनको आरोप छ।

पुनले रास्वपाभित्रको विवाद कुनै पनि बेला टकरावमा परिणत हुन सक्ने बताए। पार्टी सभापति लामिछाने र प्रधानमन्त्री शाहबीचको शक्ति संघर्षले यस्तो अवस्था सिर्जना गरेको भन्दै उनले बालेनले रविलाई थुन्ने वा रविले प्रधानमन्त्रीलाई पदबाट हटाउने परिस्थिति आउन सक्ने दाबी गरे।

‘सरकार अहिले भारतसँग लम्पसार परेको छ। कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चर्य नमाने हुन्छ,’ पुनले भने, ‘कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चर्य हुनेछैन।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले वर्तमान सरकारको कार्यदिशा संविधान र राजनीतिक व्यवस्था खारेज गर्ने तथा प्रतिक्रान्तितर्फ अघि बढ्ने रहेको आरोप लगाए। यस्तो प्रवृत्तिलाई रोक्न, राष्ट्रिय स्वाधीनता जोगाउन र लोकतान्त्रिक व्यवस्था बलियो बनाउन वामपन्थी शक्तिबीच एकता तथा संविधान स्वीकार गर्ने दलबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

उनले नेकपा र नेकपा एमालेबीच पनि सहकार्य हुनुपर्नेमा जोड दिए। देशको स्वाधीनता, लोकतन्त्र र राष्ट्रिय हितविरुद्ध हुने वैदेशिक चलखेल रोक्न संविधान पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने उनले बताए।

‘वामपन्थीहरूबीच सहकार्य र ध्रुवीकरण गर्ने र संविधान मान्नेहरूका बीचको सहकार्य पनि आवश्यक छ। एमालेसँग सहकार्य गर्नैपर्छ,’ पुनले भने, ‘देशको स्वाधीनता र लोकतन्त्र तथा नेपालमा वैदेशिक चलखेल बढाउने शक्तिविरुद्ध एक भएर लड्नै पर्नेछ।’

पुनले पछिल्लो समय एमालेका नेताहरू पनि सहकार्य र एकताका लागि हतारिएको दाबी गरे। विभिन्न भेटघाटमा एमाले नेताहरूले त्यसको संकेत दिने गरेको उल्लेख गर्दै उनले वामपन्थी दलबीच सहकार्य र राजनीतिक ध्रुवीकरणको आवश्यकता औंल्याए।

प्रकाशित: २ मंसिर २०८३ १८:१५ बुधबार