राजनीति

बागलुङ : सौहार्दपूर्ण तरिकाले उम्मेदवारी दर्ता, २३ जना चुनावी मैदानमा

उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङमा उम्मेदवार सहित पुगेका कांग्रेस, एमाले, नेकपा र राजमोका नेताहरु। तस्विर: संगम/नागरिक।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। 

दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा बागलुङ क्षेत्र नम्बर १ मा जिल्ला समन्वय समिति बागलुङको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ को बुर्तिबाङ नयाँ सहरी आयोजना कार्यालयको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले आ-आफ्ना उम्मेदवारको नामावली दर्ता गराएका छन्। क्षेत्र नम्बर १ मा ११ जना र २ मा १२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बागलुङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका भीम श्रीस, नेकपा एमालेका हिराबहादुर केसी, नेकपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट कृष्ण अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशिल खड्कालगायतले उम्मेदवारी दर्ता गरेका छन्। बागलुङ क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माका अनुसार क्षेत्र नम्बर १ मा ११ जनाको उम्मेदवारी परेको छ।

कांग्रेस, एमाले, राजमो र रास्वपाका अलावा नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याण आचार्य, मंगोल नेशनल अर्गनाइजेसनका गुमाकुमारी बुढा रानामगर, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालका सहविर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टीका टेकबहादुर केसी आजादले उम्मेदवारी दर्ता गराएका छन्।

यस पटकको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी परेको छैन। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भीम श्रीस २०५७ सालमा नेपाल विद्यार्थी संघको राजनीतिबाट नेपाली कांग्रेसमा आएका हुन्। जैमिनी नगरपालिका-१० राङ्खानी जन्म भएका उनी त्रिभुवन विश्वविद्यालयको स्ववियु सदस्य, स्ववियु उपसभापति र स्ववियु सभापति भएपछि उनको राजनीतिक उचाइ चुलिएको हो।

२०६२ सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियुमा सम्पूर्ण पदहरु अखिलका उम्मेदवार विजयी हुँदा श्रीसले एक्लै सभापति पदमा नेविसंघबाट विजयी भएका थिए। नेपाली कांग्रेसको १२ औं महाधिवेशनपछि निरन्तर रुपमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएका छन्। यस पटक नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्य चुनिएका छन्। सादगी नेताको रुपमा परिचय बनाएका श्रीसलाई टिकट दिएर यस पटक न्याय गरेको कांग्रेस कार्यकर्ताले बताए।

नेकपा एमालेबाट उम्मेदवार बनेका नेकपा एमालेका हिराबहादुर केसी बागलुङ जिल्लाका अध्यक्ष पनि हुन्। यद्यपि एमालेको ११ औं केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेपछि उनको जिल्ला अध्यक्ष पद खारेज भइसकेको छ। एमालेको विधानअनुसार कुनै एक पदमा रहेको व्यक्ति अर्को पदमा उम्मेदवार हुँदा पहिलेको पद स्वत: खारेज हुने प्रावधानअनुसार उनको जिल्ला अध्यक्ष पद खारेज भएको हो।

जिल्ला अध्यक्ष पद धरापमा राखेर केन्द्रीय सदस्यको उम्मेदवार भए पनि उनी विजयी हुन सकेनन्। काठेखोला गाउँपालिका-३ धम्जा घर जन्म भएका केसी यस पटक समेत गरी तेस्रो पटक निर्वाचनमा उम्मेदवार बनेका छन्। संविधानसभा निर्वाचन २०७० मा उनी नेपाली कांग्रेसका उम्मेदवार हरिबहादुर खड्कासँग पराजित भएका थिए। त्यसपछि २०७९ मा प्रदेशसभा तर्फ उम्मेदवार बनेका उनी नेपाली कांग्रेसकै दिपेन्द्र थापासँग पराजित भएका थिए।

केसी विद्यार्थी राजनीतिबाट उदाएका हुन्। उनी स्वतन्त्र विद्यार्थी युनियन धवलागिरी बहुमुखी क्याम्पस बागलुङ पूर्व सभापति, युवा संघ नेपालको पूर्व केन्द्रीय उपाध्यक्ष समेत भइसकेका छन्। नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट उम्मेदवार बनेका राजमोका कृष्ण अधिकारी राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव हुन्। उनी राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अखिल छैठौंका पूर्व केन्द्रीय अध्यक्ष समेत भइसकेका व्यक्ति हुन्।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको विरासत रहेको बागलुङ क्षेत्र नम्बर १ मा अहिले अधिकारी उम्मेदवार बनेका हुन्। आफ्नो उमेर र पारिवारिक समस्याका कारण केसी समानुपातिकमा बसेपछि राजमोले अधिकारीलाई उम्मेदवार बनाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुशिल खड्का बागलुङ नगरपालिका-३ गुठीका हुन्। खड्का अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर नेपाल फर्किएका हुन्। खड्काले टिकट पाएपछि असन्तुष्ट बनेका जिल्लाका रास्वपा नेताहरु पनि उनको उम्मेदवारी दर्तामा भने एकसाथ देखिएका थिए।

बागलुङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपा एमालेकी मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीका ज्ञाननाथ गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मालगायतले उम्मेदवारी दर्ता गरेका छन्। यसका अलावा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन, नेकपा माओवादी गुलाब चिन्हबाट लोकेन्द्र घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदम कुँवर, नेपाल मानवतावादी पार्टीबाट टेकप्रसाद कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट जुनबहादुर थापा, जनता समाजवादी पार्टीबाट पूर्णबहादुर घर्ती, नेशनल रिपब्लिक पार्टीका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गरेका छन्।

बागलुङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका निसीखोला-४ का टेकराज पौडेल नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका हुन्। उनी हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी नेपाल विद्यार्थी संघका सहमहामन्त्री हुँदै कांग्रेस राजनीतिमा आएका हुन्। उनी १३ औं र १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार भए पनि विजेता बन्न सकेका थिएनन्।

नेकपा एमालेबाट उम्मेदवार बनेकी मञ्जु शर्मा चालिसे गलकोट नगरपालिका-३ की हुन्। उनी हाल नेकपा एमालेको केन्द्रीय सदस्य छिन्।

स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसले मेयरको टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेकी उनी त्यही वर्ष प्रतिनिधि सभा निर्वाचनमा एमाले प्रवेश गरेर उम्मेदवार बने पनि गठबन्धनका उम्मेदवार तत्कालीन माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलसँग पराजित भएकी थिइन्। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ज्ञाननाथ गैरे गलकोट नगरपालिका-६ का हुन्।

उनी नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुन्। २०५० सालदेखि अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति सुरु गरेका गैरे अखिल क्रान्तिकारी बागलुङको जिल्ला सचिव, अध्यक्ष हुँदै २०५७ सालमा केन्द्रीय सदस्य भएका थिए। तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धको बेला जेल जीवन समेत बिताएका गैरे २०५९ सालमा नेकपा (माओवादी) बागलुङको जिल्ला सेक्रेटरीको जिम्मेवारी निर्वाह गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सोम शर्मा बागलुङ नगरपालिका-४ रात्माटाका हुन्।

उनी जेनजी आन्दोलनका अगुवामध्ये एक हुन्। जेनजी आन्दोलनको क्रममा उनको खुट्टामा समेत गोली लागेको थियो। जेनजी आन्दोलनपछि बालेन शाहसँगै रास्वपाबाट राजनीतिक यात्रामा प्रवेश गरेका हुन्। बागलुङ जिल्लाको दुई वटै निर्वाचन क्षेत्रमा यस पटक चार पक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।

पुराना राजनीतिक दलप्रति आक्रोश व्यक्त गर्नेहरुका लागि रास्वपा विकल्पको रुपमा आएको छ भने पुराना दलहरु कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय जनमोर्चाको बागलुङमा पहिलेदेखि नै राम्रो उपस्थिति छ। हाराहारीमा रहेको कांग्रेस एमालेलाई यस पटक नयाँ शक्तिको रुपमा रास्वपा तथा गठबन्धन मार्फत राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिष्ट पार्टीले कडा टक्कर दिने आँकलन गरिएको छ।

प्रकाशित: ७ माघ २०८२ ०८:४९ बुधबार