राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको वार्ता सकिएलगत्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई वार्तास्थल पुगेका छन्।
बिहीबार ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा यी महत्त्वपूर्ण राजनीतिक भेटघाटहरू भइरहेका छन्।
करिब अढाइ घण्टा लामो संवादपछि रवि लामिछाने बाहिरिएलगत्तै डा. भट्टराईको इन्ट्री भएको हो। लामिछानेले बाहिरिने क्रममा ‘वार्ता राम्रो भयो’ भन्ने संक्षिप्त प्रतिक्रिया दिएका थिए। उनी निस्किएको केही बेरमै सोही स्थानमा डा. भट्टराई प्रवेश गरेका हुन्।
पछिल्लो दुई दिनयता मेयर शाहले राजनीतिक भेटघाटलाई निकै तीव्रता दिएका छन्। उनले यसअघि मन्त्री कुलमान घिसिङ, कांग्रेस नेता सुनिल शर्मा र सांसद अमरेशकुमार सिंहसँग भेट गरिसकेका छन्।
प्रकाशित: १० पुस २०८२ १६:३२ बिहीबार