राजनीति

बाबुराम भन्छन् : कार्की सरकारमा एक तिहाइ युवा सहभागिता सुनिश्चित गरौँ

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा धेरै भन्दा धेरै युवालाई स्थान दिनुपर्ने बताएका छन्। उनले मन्त्रिमण्डल विस्तार गर्दा कम्तीमा एक तिहाइ युवा पुस्तालाई समावेश गर्न सुझाव दिएका हुन्।

जेन–जी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारका हालसम्मका कदम र नियुक्तिहरूलाई सकारात्मक भन्दै उनले पुराना शक्ति र यथास्थितिको प्रभाव बढ्दा आन्दोलनको भावना कमजोर हुन सक्ने चेतावनी दिए। 

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेन–जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका प्रम सुशीला कार्कीका अहिले सम्मका अभिव्यक्ति, कदम, नियुक्ति सकारात्मक नै छन्। परन्तु आन्दोलनको रापताप सेलाउँदै जाँदा पुरानै शक्ति र प्रवृत्ति हाबी हुँदै जान्छ र युवाहरूको असन्तुष्टि र आक्रोश पुनः विस्फोट हुनसक्छ।’ 

उनले सरकारले आफ्नो निष्ठा विद्रोही जेन–जी र परिवर्तनप्रति राख्नुपर्नेमा जोड दिँदै मन्त्रीपरिषद् र अन्य नियुक्तिमा युवा समूहबाट एक तिहाइ सहभागिता सुनिश्चित गर्नुपर्ने तर्क गरेका छन्। 

उनी अगाडि लेख्छन्, ‘अतः सरकारले आफ्नो लोयल्टी पुराना शक्ति र यथास्थितितिर होइन विद्रोही जेन–जी र परिवर्तनतिर हो र हुनुपर्छ भन्ने हमेसा हेक्का राख्नु उपयुक्त हुनेछ। त्यसनिम्ति अन्य कुराहरूका अतिरिक्त मन्त्रीपरिषद् लगायत सबै नियुक्तिहरूमा युवा समूहबाट कमसेकम एक तिहाइ सदस्य राख्नु राम्रो हुनेछ।’ 

मन्त्रीमण्डल विस्तारको चर्चा चलिरहेका बेला भट्टराईले यो सुझाव दिएका हुन्। 

प्रकाशित: ६ आश्विन २०८२ ०८:२९ सोमबार